नुवाकोटमा पोष्टबहादुर बोगटी पत्नी राममायाको बागी उम्मेदवारी

Posted on: 10 Oct, 2022

असोज २४, नुवाकोट | माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटी पत्नी राममायाले बागी उम्मेदवारी दिएकी छन् । आफूले पाएको टिकट खोसिएपछि उनले बागी दिएकी हुन् ।

माओवादी केन्द्रले सुरुमा बोगटीलाई नुवाकोट–२ को (ख) मा टिकट दिएको थियो । तर, उम्मेदवारी मनोनयन दर्ताको केही घण्टाअघि मात्र टिकट खोसिएपछि उनले बागी दिएकी हुन् । 


सत्ता गठबन्नबीचको भागबण्डामा प्रतिनिधिसभा क्षेत्र नम्बर–२  (क) नेकपा एकीकृत समाजवादी र (ख) माओवादी केन्द्रको भागमा परेको थियो । तर, अन्तिम समयमा कांग्रेस र माओवादीले अघिल्लो निर्णय उल्ट्याउँदै प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरेका थिए । 

प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा कांग्रेस तथा प्रदेशसभाको (क) मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो । प्रतिनिधिसभामा कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् । 

प्रदेश (क) मा समाजवादीबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी र (ख) मा माओवादीबाट बोगटीले लगिसकेको टिकट अन्तिम अवस्थामा खोसिएको थियो । 

समाजवादीको भागमा परेकोे प्रदेश (क) मा माओवादीबाट रामप्रसाद ढुंगाना र  माओवादीले पाउने भनिएको प्रदेश (ख) मा कांग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन् । 

बोगटीले आफूले पहिला टिकट पाएको भन्दै उम्मदेवारी फिर्ता नलिने अडान राखेकी छन् । यस्तै प्रदेश (क) मा उम्मेदवारी दर्ता गराएका लोहनीले माओवादीबाट उम्मेदवारी दिएका ढुंगानाको उम्मेदवारी कायमै रहे गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!