एमाले नेता हुँ भन्दै अरूलाई भोट हाल्ने कसैलाई छुट छैन : इन्चार्ज घिमिरे

Posted on: 05 Jun, 2022

जेठ २२, उदयपुर | नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले एमाले नेता हुँ भन्ने अरूलाई भोट हाल्ने छुट नभएको बताएका छन् । 

नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को प्रथम अधिवेशनलाई उद्घाटन गर्दै उदयपुरको सदरमुकाम गाईघाटस्थित होटेल टाउन हलमा घिमिरेले पार्टीका नेता र कार्यकर्ताले अरूलाई भोट लगाउनु गम्भीर विषय भएको बताए ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रका नेताको अन्तर्घातकै कारण धेरै ठाउँमा पराजित हुनु परेको निष्कर्ष निकाल्दै उनले भने, ‘आफू अनुकूल निर्णय नहुँदैमा विपक्षी पार्टीलाई भोट हाल्नु गम्भीर हो । समीक्षा हुन्छ र त्यस्ता अन्तर्घात गर्नेलाई कारबाही गर्छौ ।' दया र मायाले पार्टी संगठन नचल्ने भन्दै उनले स्वार्थको राजनीतिको समूल अन्त्य गर्न यस पटकको निर्वाचनको परिणामले निर्मम समीक्षाको बाटो रोजेको उल्लेख गरे ।

‘आफूले भनेको सबै ठिक अरूले भनेको सबै बेठिक', घिमिरेले भने, ‘पार्टी भित्रको अहमता र घमन्डको सीमा नाघेकाले तल्लो स्तरबाटै समीक्षा गरी त्यस्तालाई कारबाही गर्छौ ।'

घिमिरेले नेकपा एमालेलाई सिद्ध्याउनु भनेको राजनीतिक अस्थिरता मच्चाउनु र कम्युनिस्ट आन्दोलनलाई सखाप पार्नु नै भएको बताए । उनले केही शक्ति एमालेलाई सिद्ध्याउने सोचमा रहेको आरोप लगाए ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले आस्था र विचारका आधारमा कुनै पनि कर्मचारीलाई पूर्वाग्रही ढंगले सरुवा, बढुवा गरे त्यसको संगठनले सशक्त प्रतिरोध गर्ने चेतावनी दिए ।

उनले समग्र कर्मचारीको गुनासो, समस्यामा केन्द्रित हुन संगठनले केन्द्रीय कार्यालयबाट एकद्वार प्रणालीको व्यवस्था गर्न लागेको हुँदा नअत्तालिन आग्रह गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!