प्रदेश सांसद अधिकारीकी श्रीमती वडाध्यक्षमै पराजित

Posted on: 20 May, 2022

जेठ ६, लमजुङ | लमजुङ जिल्लामा स्थानीय तह निर्वाचनको परिणाममा नेकपा एमालेको अवस्था सन्तोषजनक छ । ८ वटा पालिका रहेको लमजुङमा जिल्लाको सदरमुकामको नगरपालिकामा एमालेले जितेको छ । बेँशिसहर नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो ।

यो पटक पनि प्रमुख र उपप्रमुख एमालेले जितेको छ । सदरमुकाम बेँशिसहरसँगै एमालेले मर्स्याङ्दी गाउँपालिका, क्वहोलासोथर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ भने दोर्दी गाउँपालिकाको प्रमुख जितेको छ । यस्तै एमालेले सुन्दरबजार र मध्यनेपाल नगरपालिकाको उपप्रमुख जितेको छ ।

तर यस अघि निर्वाचित भएका जिल्लामा एमालेका केन्द्रीय स्तरका नेताका वडाहरूमा भने अन्य पार्टीले जित निकालेका छन् । एमालेका गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको दुधपोखरी गाउँपालिका २ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ भने केन्द्रीय सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज मायानाथ अधिकारीकै वडामा पनि नेपाली कांग्रेस विजयी भएको छ ।

दोर्दी १ भारतेमा मायानाथ अधिकारीकै श्रीमती इन्दिरा लम्साल अधिकारी वडाध्यक्षमा नेपाली कांग्रेससँग पराजित भएकी छन् । उनी एमाले जिल्ला कमिटी सदस्य समेत हुन् । देशका विभिन्न स्थानमा रहेका केन्द्रीय स्तरका नेताहरूकै वडामा फरक पार्टीले जित निकालिरहेको अवस्थामा लमजुङ जिल्लामा पनि फरक परिणाम आएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!