बाँकेमा यस्तो छ मतगणनाको अवस्था

Posted on: 16 May, 2022

जेठ २, नेपालगञ्ज | गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारूले ७३ मतले अग्रता लिएका छन् । कांग्रेसका तप्त पौडेलले दोस्रो स्थानमा रहँदै एमालेका थारूलाई पछ्याइरहेका छन् ।  

मतगणनाको पछिल्लोअनुसार एमालेका थारुले सात हजार १०० मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल सात हजार २७ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारूभन्दा ७३ मतले पछि छन् । 

त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारूले पाँच हजार ७६९ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको सात हजार २००, कांग्रेसकी मनिषासिंह थारूको ६ हजार ९९२  र माओवादीकी मन्जु रोकायले पाँच हजार ३७० मत पाएका छन् । अहिले मतगणना जारी छ ।

यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि छन् । वडा नम्बर १, २, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिँदासम्म विष्टले चार हजार २५७ मत पाएका छन् । नेकपा एमालेका पशुपतिदयाल मिश्र एक ८८७ मतका साथ दोस्रो स्थानमा छन् । विष्ट मिश्रभन्दा दुई हजार ३७० मतले अघि छन् । राप्रपाका नन्दलाल वैश्यले एक हजार ६३५ मत पाएका छन् । 

यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले दुई हजार ९६९ मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले दुई हजार १५५ मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको एक ७१९ मत आएको छ ।  

यसैगरी बाँकेको खजुरा गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले पाँच हजार ४८७ मत प्राप्त गरेका छन् । उनलाई गठबन्धनका डम्बर विक तुफानले पाँच हजार १३ मतका साथ पछाउँदै आएका छन् । खजुरामा उपाध्यक्षमा एमालेका साकरुन निशाले चार हजार ७५८ मतले अग्राता लिएकी छन् भने उनलाई गठबन्धनकी मञ्जु मल्लले चार हजार ७३६ मतले पछाउँदै आएकी छन् ।

बाँकेको डुडुवामा काँग्रेसका नरेन्द्र चौधरीले दुई हजार ४६६ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनलाई एमालेकी सरोजदेवी यादवले पछाउँदै एक हजार ५८२ मत ल्याएकी छन् । जसपाका भण्डारीलाल यादवले एक हजार ४४५ मत ल्याई तेस्रो स्थानमा छन् ।

डुडुवामा उपाध्यक्षका लागि कांग्रेसका शायदा बानोले २३०७ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनलाई एमालेका शकिल अहमद खाँनले एक हजार ६७६ मत ल्याएर पछाउँदै छन् भने जसपाका तरन्नुम बानो एक हजार ४४५ मत ल्याएर तेस्रो अवस्थामा रहेकी छन् ।

यसैगरी बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले २३०२ मत प्रँप्त गरी पहिलो स्थानमा रहेका छन । उनलाई एमालेका हिमान्शु यादवले १४४३ मतले पछाउदै दोस्रो र जसपाका राजिव बर्माले १२९४ मत ल्याएका छन ।

उपाध्यक्षमा नेपाली काँग्रेसका रामप्यारी यादवले दुई हजार ४०५ ल्याई अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रका रक्षाराम यादवले एक हजार २७३ मतले पछाउँदै छन् भने तेस्रो स्थानमा एमालेकी भूमिसरा धितालले ९२३ मत ल्याएकी छन् । 

कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्यले दुई हजार ३४८ मत ल्याई अग्रस्थानमा छन् । उनलाई एमालेका खिलप्रसाद भुसालले एक हजार ९८८ मतले पछ्याउँदै दोस्रो स्थान र माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले एक हजार ६९३ मतका साथ तेस्रो स्थानमा छन् ।

उपमेयरमा नेपाली कांग्रेसकै संगीता सुवेदी पौडेलले दुई हजार ५०२ मत प्राप्त गरि अग्रस्थानमा छन् । उनलाई एमालेकी अस्मिता थारूले दुई हजार ८८ मत प्रप्त गरी दोस्रो स्थान र एकीकृत समाजवादीकी नारायणी वलीले ८८७ मत प्राप्त गरेकी छन् ।

नरैनापुरमा मतगणना जारी भएपनि नतिजा सार्वजनिक भएको छैन भने बैजनाथमा मतगणना स्थगित गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!