लुम्बिनीबाट विजयी राष्ट्रिय सभा सदस्यहरू : नेविसंघमा देउवाका समकक्षीदेखि कलाकारसम्म

Posted on: 26 Jan, 2022

माघ १२, काठमाडौँ | लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा,  नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश)  विजयी भएका हुन् । उनीहरूले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।

यस्ता छन् विजयी उम्मेदवार :

१. युवराज शर्मा, नेपाली काँग्रेस

शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा युवराज शर्मा उपसभापति थिए । उनी बाँके जिल्लाको हाल नेपालगञ्ज नगरपालिका वार्ड नम्बर २ मा २००७ साल चैत १२ गते जन्मेका हुन् । शर्मा २०२४ सालमा पञ्चायतको विरोध गर्दा पहिलोपटक  जेल परेका थिए । त्यसपछि पटक पटक जेल परेका छन् । ‘दर्जनौँ पटक जेल परेको छु, त्यो बेला राजनीति नै त्यस्तै थियो,’ उनले भने ।

उनी २०३० सालमा भूमिगत रूपमा पार्टीको जिल्ला सचिवसमेत बनेका थिए भने नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशनमा उनी उपसभापति चयन भए । उनी शिक्षकसमेत हुन् । वेतहनी विद्यालय, खजुरा आदर्श मावि हुँदै महेन्द्र माविमा पनि उनले पढाए । २०४६ सालमा बाँकेबाट जनआन्दोलनको नेतृत्व नै शर्माले गरेका थिए । त्यसपछि उनी शिक्षण पेसा छाडेर राजनीतिमा पूर्ण रुपले होमिए । बाँकेको सभापति हुँदै अहिले नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा रहेकै बेला उनलाई पार्टीले राष्ट्रियसभाको उम्मेदवार बनाएको हो ।

२. राज्यलक्ष्मी गैरे, नेकपा एकीकृत समाजवादी

सत्तारुढ गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी राज्यलक्ष्मी गैरे पाल्पा जिल्लाको रामपुरमा जन्मेकी हुन् । २०२४ सालमा जन्मेकी गैरे २०३६ सालदेखि नै राजनीतिमा सक्रिय भएकी हुन् । त्यो बेला रामतुल्सी मावि रामपुरमा अध्ययन गर्दै गर्दा बहुदल र निर्दलको राजनीतिक संघर्ष थियो । त्यस क्रममा गैरे बहुदलको पक्ष लागिन् । फेरि ३७ सालमा विद्यार्थी हत्याकाण्ड र झापा काण्डले उनलाई राजनीतिप्रति झन् गहिरोसँग लाग्न प्रेरित गर्‍यो । उनी ३९ सालमा अनेरास्ववियुको जिल्ला सदस्य बनिन्, त्यसपछि निरन्तर पार्टीमै छिन् । अविवाहित गैरेसँग पाल्पा जिल्ला कमिटी सदस्य ४ पटक र जिल्लाको लेखा आयोगको अध्यक्ष भएर काम गरेको अनुभव छ ।

उनी नेकपा एमाले नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी थिइन् । उनी झिनो मतान्तरले पराजित भइन् भने महिला संगठनको केन्द्रीय सदस्य बनेर काम गरिन् ।

यही बीच तत्काल एमालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उनी विरोधमा उत्रिएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षको परिणमस्वरुप दल विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि उनी नवगठित दलमा सामेल भइन् । अहिले उनी सोही दलबाट उम्मेदवार बनेकी हुन् । उनी नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्जको भूमिकामा छिन् । उनी पार्टीको केन्द्रीय सदस्य पनि हुन् ।  

३. तुलप्रसाद विश्वकर्मा, राष्ट्रिय जनमोर्चा

सत्तारुढ गठबन्धन अन्तर्गत राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका विश्वकर्मा ३५ सालदेखि पार्टीको होलटाइमर कार्यकर्ता हुन् । जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानका कलाकारदेखि हाँक पत्रिकामा एक वर्ष पत्रकारिता गरेको अनुभवसमेत उनीसँग छ ।

विश्वकर्माको जन्म बाग्लुङमा २०१५ सालमा भएको हो । बाग्लुङको गलकोट जन्मेका विश्वकर्माको अध्ययन गलकोट माविमा भयो । पीएन क्याम्पस पोखरामा आईएसम्म पढेपछि केही वर्ष शिक्षण पेसामा समेत उनी लागेका थिए । उनले २०३१ सालदेखि सितलपाटीमा प्रधानाध्यापक भएर काम गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!