प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन वार्ता टोली गठन

Posted on: 22 Dec, 2021

पुस ७, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को नामकरण र राजधानीका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न टोली गठन गरेको छ। लोसपाले सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको हो।

उक्त टोलीले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोक्न सहमतिका लागि दलसँग छलफल गर्ने भएको हो। जनता समाजवादी पार्टीले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाममा सहमति जुटाउन विभिन्न राजनीतिक दलसँग संवाद थालेकै दिन मंगलबार लोसपाले पनि वार्ता समिति गठन गरेको हो। लोसपाको वार्ता टोली सदस्यमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरीलाई राखिएको छ।

पार्टीको निर्णयबमोजिम प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रदेशसभाभित्र रहेका दलसँग छलफल र सहमतिका लागि वार्ता टोली गठन गरेको लोसपा प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले जानकारी दिए। भोलि बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण र राजधानी तोक्ने प्रस्ताव प्रस्तुत हुने तयारी भइरहेका बेला प्रदेश सरकारको नेतृत्वकर्ता दल जसपा र लोसपाले दलीय सहमति जुटाउने कसरत शुरु गरेका हुन्।

जसपाका प्रदेशसभा सदस्यले सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेतालाई भेटेर सहमतिको प्रस्ताव गरेको जसपाका प्रदेशसभा सदस्य मनिषकुमार सुमनले जानकारी दिए। जसपाले पनि प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव गरेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!