खोटाङमा बन्यो एमालेको महिला मात्रको वडा कमिटी

Posted on: 24 Oct, 2021

कात्तिक ७, खोटाङ | नेकपा एमालेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ३ च्यास्मीटारमा महिला मात्रको वडा कमिटी निर्माण गरेको छ । आइतबार सम्पन्न वडा अधिवेशनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

महिलाको क्षमतामा विश्वास नगर्ने तथा नेतृत्वमा पुरुषलाई मात्र अघि सार्ने परिपाटीका बीच महिलालाई अघि सारिएको एमालेबाट च्यास्मीटारको वडा अध्यक्षमा निर्वाचित भलाराज राईले बताए । वडा कमिटीको उपाध्यक्षमा कमलकुमारी राई, सचिवमा सम्झना राई, उपसचिवमा अस्मिता राई र प्रेमकुमारी बिकलाई चयन गरिएको एमालेले जनाएको छ ।

‘महिलालाई अवसर दिनुहुँदैन, महिलाले केही गर्न सक्दैनन्’ भन्ने पुरुषवादी सोचको अन्त्यका लागि पार्टीको वडा कमिटीको ‘स्टेरिङ’ महिलालाई दिइएको वडा अध्यक्ष राईले बताए । 'महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्छ, अवसर दिनुपर्छ भन्ने सोच त छँदै छैन । यो पुरातन सोच त्याग्नुपर्छ', राईले भने, 'हामीले इतिहास रच्ने प्रयास गरेका हौँ । महिलाको क्षमतामा विश्वास गर्नुपर्छ भन्ने उदाहरण देखाउन खोजेका छौँ ।' 

११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, दुर्छिम र धितुङको वडा अधिवेशन ८ कात्तिकमा हुने एमालेले जनाएको छ । विवादका कारण राजापानीको वडा अधिवेशन ९ कात्तिकमा पालिका अधिवेशनकै दिन टुंग्याउने सहमति बनेको नगरपालिकाका एमाले नेता एवं युवा संघका जिल्ला अध्यक्ष रसकुमार राईले बताए । 


दुईवटा नगरपालिका र आठवटा गाउँपालिका रहेको जिल्लाका ७९ वडामध्ये अधिकांश वडाको अधिवेशन सम्पन्न भइसकेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुइचुम्मा गाउँपालिका- ५ सछितापोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका- ७ टेम्मा, रावाबेँसी गाउँपालिका- ६ हौँचुरको वडा अधिवेशन ८ कात्तिकमा हुने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए । स्थानीय शिक्षिका मृत फेला परेपछि हौँचुरमा नेकपा एमालेको वडा अधिवेशन स्थगित भएको हो । 

आसन्न १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट जिल्लाका दुई हजार ४४९ जना वडास्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदै छन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडास्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिवसहित सदस्य चयन गर्नेछन् । 

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!