ओखलढुंगामा एमाले अधिवेशन: वडामा सहमति, जिल्लामा गुटबन्दी

Posted on: 23 Oct, 2021

कात्तिक ६, ओखलढुंगा | नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ । जिल्लाका ७५ वटै वडामा वडा अधिवेशन सुरु भएको नेकपा एमाले जिल्ला कमिटी सचिव शंकर कटवालले जानकारी दिए । 

जिल्लाका सबै ७५ वडामा नेकपा एमालेको प्रथम विधान महाधिवेशनबाट पारित विधान अनुसार अधिवेशन सम्पन्न हुने कटवालले बताए । ‘सकेसम्म सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने, असम्भव  भएमा स्वस्थ लोकतान्त्रिक पद्धति अपनाइनेछ’ उनले भने । 

कतिपय वडामा यसअघि निर्माण गरिएको अधिवेशन आयोजक कमिटीलाई नै अनुमोदन हुने र कतिपयमा हेरफेर हुने एमालेले जनाएको छ । एमालेको वडा तहमा नेतृत्व चयनमा खास मतभेद देखिएको छैन । पालिका तथा जिल्लास्तरमा भने गुटगत रुपमा विभाजन हुने देखिएको छ । 

एमालेका सबै वडा र स्थानीय कमिटी सर्वसम्म बनाउन र गुटगत रुपमा काखा र पाखा नगर्न नेताहरुलाई निर्देशन दिइएको एमाले केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताए । उनले पार्टी बनाउने सन्दर्भमा अनुचित खालको गुटलाई निषेध गरिने उनको भनाइ छ । 

नेकपाकालीन द्वन्द्व जिल्ला तथा पालिकामा रहे पनि वडा तहमा भने विवाद सहतमा आउने गरी देखिएकाे छैन । पालिका तथा जिल्लामा नेताहरुबीच गुटगत विभाजन र गुटबन्दी चर्को रुपमा देखिएको छ । 

वडामा सहमति, पालिका र जिल्लामा गुटबन्दी 

पालिका तथा जिल्ला तहमा भने एमालेमा ओलि समुह र १० बुँदे पक्षधर समुह सक्रिय छ । ओलिभित्र पनि खासगरी ईश्वर पोखरेल नजिक रहने नेताहरुले गुट निर्माण गरेका छन् ।

त्यसको नेतृत्व किशोर अधिकारी, नानीबाबु बुढाथोकी, अम्बीरबाबु गुरुङ, शकुन्तला राजभण्डारी, तीर्थ सुवेदी लगायतले गरेका छन् । यो समुहमा माओवादीबाट प्रवेश गरेका बालकृष्ण ढुंगेल, सुरेश थापा, अशोक थापा लगायतका जिल्ला तहका नेताहरु पनि छन् । 

१० बुँदे पक्षधरहरुको नेतृत्व यज्ञराज सुनुवारले गरेका छन् । यो समुहमा नेताहरु हर्कबोल राई, मणिराज राई हरिकुमार राई, गोविन्द पौडेल, सुनिल खड्कालगायत छन् । 

ओली पक्षीय समुहमा भने चर्को विवाद छ । प्रदेश सांसद अम्बीरबाबु गुरुङ, नानीबाबु बुढाथोकी, बालकृष्ण ढुंगेल, तीर्थ सुवेदीलगायतको एक र केन्द्रीय सदस्य किशोर अधिकारी, मोहन श्रेष्ठ, सीताराम गुरुङ लगायतको अर्को उप समूह छ । 

यो विवादमा खेलेर १० बुँदे पक्षधर नेताहरुले राजनीतिक संस्कार भएका नेताहरुको मजबुद समुह निर्माण गर्न खोजेको एक जिल्ला नेताले बताए । उनले भने, ‘अब एमालेमा राजनीतिक र गैरराजनीतिक समुहको धुव्रिकरण हुन्छ, गैरराजनीतिक समुह क्षणिक लाभहानीमा लागेकाले दीर्घकाल टिक्दैन ।’

एमालेमा माओवादीबाट प्रवेश गरेका र व्यापार व्यवसायबाट राजनीतिमा आएकाहरुलाई ‘राजनीतिक संस्कार’ नभएका भनेर मतदाता, कार्यकर्ताहरुले आलोचना गर्ने गरेका छन् । कार्यकर्ताहरुमाथि गरिने व्यवहारका आधारमा नेताहरुको वर्गीकरण मतदाता तथा कार्यकर्ता तहबाटै हुने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!