मन्त्रिपरिषदले पूर्णता पायो, कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

Posted on: 10 Jun, 2021

जेठ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद् मा  तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री रहेका छन् ।

कुन मन्त्रालयको जिम्मेवारी कसलाई ? 

प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । विस्तारित मन्त्रिपरिषद् मा  नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् । एमालेबाट गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् ।

यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!