पार्टीको सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

Posted on: 13 May, 2021

वैशाख  ३०, काठमाडौँ (रासस)। नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका  सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ । 

उहाँका अनुसार बैठकले नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।   उहाँले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमको  समीक्षा गर्दै एकताको रक्षाका लागि विगतका सबै तीता कुरा बिर्सिएर अगाडि बढ्ने जनाउँदै सो प्रयोजनका लागि पार्टी नेताहरुको कारवाही फुकुवा गरिएको बताउनुभयो । 

पार्टी एकताको बृहत्तर हितलाई ध्यानमा राखेर आवश्यक कदम चालिने र  असन्तुष्ट पक्षसँंग वार्ता गरिने जानकारी उहाँले दिनुभयो ।    उहाँले भन्नुभयो, “आफ्नै नेतृत्वको सरकार ढालेर विपक्षको सरकार बनाउनका निम्ति कारक नबन्न सबैलाई आह्वान गरिएको छ ।”

यसैगरी बैठकले पार्टी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोभिड– १९ को सङ्क्रमणका कारण भएको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रवक्ता ज्ञवालीले उहाँको निधनबाट पार्टीले एक असल नेता र दोलखालीले अब्बल जनप्रतिनिधि गुमाएको बताउनुभयो ।  बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै चौलागाईंको सम्मानमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाइने निर्णय गरेको छ । 

यसैगरी बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीको पछिल्लो जटिलावस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमका सम्बन्धमा जानकारी दिनुभएको थियो । बैठकले अक्सिजनको पर्याप्तता, प्रभावकारिता र नियमित आपूर्ति, खोपलगायत जीवनरक्षक औषधिको प्रबन्ध, अस्पतालको पूर्वाधार विस्तारलगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न र मित्र राष्ट्रबाट आवश्यक सहायता जुटाउनका लागि थप कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।

बैठकले कोभिड महामारीको अझ तयारी गर्न र अक्सिजनलगायत आवश्यक सामग्री आपूर्ति गर्नका लागि राज्यका सबै संयन्त्र प्रयोग गर्न सरकारलाई सुझाव दिएको उहाँले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!