मुगु जिल्लाभर उम्मेदवार मनोनयन दर्ता, एमालेबाट दुई बागि उम्मेदवार

Posted on: 02 May, 2017

दान बहादुर बुढा | बैशाख १९, मुगु | वैशाख ३१ गते हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य मंगलवार सकिएको छ ।

 जिल्लाको एक नगरपालिका, तिन गाउँ पालिका र ४५ वडाका लागि राजनितिक दलहरुले उम्मेदवारको मनोनयन दर्ता गरेका छन । छायानाथ रारा नगरपालिकाका लागि प्रमुख र उप प्रमुख पदमा नेपाली काँग्रस र नेकपा माओवादी केन्द्रका तर्फबाट हरिजंग शाही र सुरबहादुर बुढाले मनोनयन दर्ता गराएका छन भने एमालेका तर्फबाट प्रमुखमा जितबहादुर मल्ल र उप प्रमुखमा सुन्तला रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन ।त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फबाट धिरेन्द्रबहादुर कार्कीले प्रमुख पदमा उम्मेदवारी दिएका छन ।

त्यस्तेै खत्याड गाउँ पालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा लोकेन्द्र थापा र उप प्रमुखमा सरिता रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । नेकपा एमालेका तर्फबाट प्रमुखमा उब्जनबहादुर शाही र उप प्रमुखमा जयानन्दा रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । दुवै पदमा बागि उम्मेदवारी मनोनयन दर्ता भएका छन । नेकपा एमालेबाट प्रमुख र उप प्रमुखको उम्मेदवारको टिकट नपाए पछि अम्मराज शाही र राजबहादुर शाहीले सुरुमा नै स्वतन्त्र उम्मेदवारका रुपमा गाउँ पालिकाको प्रमुख पदमा मनोनयन दर्ता गरेको बताईएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुखमा विर्खबहादुर थापा र उप प्रमुखमा जुनदेवी शाहीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । 

सोरु गाउँ पालिकामा काँग्रेसबाट प्रमुखमा लोकबहादुर शाहीले मनोनयन दर्ता गराएका छन भने एमालेबाट प्रमुखमा धर्मबहादुर शाही र उप प्रमुखमा राज्यलक्ष्मी मल्ल, माओवादी केन्द्रबाट प्रमुखमा पुरनबहादुर शाही र उप प्रमुखमा विष्णुदेवी देवकाटाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । मुगुम कार्मारोङ गाउँ पालिकामा काँग्रेस र माओवादी केन्द्रका तर्फबाट प्रमुखमा छिरिङक्याप्ने लामा र उप प्रमुखमा ईटोल लामाले उम्मेदवारी दर्ता गराएका छन । एमालेका तर्फबाट प्रमुखमा सोनाम लामाले प्रमुखमा मनोनयन दर्ता गराएका छन । सदरमुकाम बाहिर सञ्चार सम्पर्क त्यति राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकि रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विस्तृत विवरण बुधबारसम्म आई पुग्ने कार्यालयको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!