भदौ २४, धनगढी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरे पनि आफ्नो संलग्नता नभएको स्पष्ट पारेका छन्। धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, "गोर्खा मिडियामा सहकारीबाट गलत तरिकाले रकम आएको स्थापित भएको छ, तर त्यसमा मेरो कुनै संलग्नता छैन।"
लामिछानेले आफू गोर्खा मिडियासँग आवद्ध भए पनि अरूले गरेको अनियमितताका लागि आफू जिम्मेवार हुन नपर्ने दाबी गरे। "प्रहरी अनुसन्धानले कसले बद्मासी गर्यो भनेर पहिल्याइसकेको छ, तर त्यसमा मेरो कुनै सहभागिता छैन भन्ने कुरा महत्वपूर्ण छ," उनले थपे। "यदि मैले लाभ लिएको भए मात्र मेरो संलग्नता ठहरिने थियो।"
उनले सहकारी प्रकरणबारे संसद्को छानबिन समितिले न्यायोचित छानबिन गर्दै समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे। लाखौं मानिसहरू सहकारी प्रणालीबाट पीडित रहेको उल्लेख गर्दै उनले भने, "यस समितिको प्रतिवेदनले सहकारी समस्याको समाधानमा ठोस कदम चाल्न मद्दत गर्नेछ।"
गोर्खा मिडिया लगायतका संस्थामा सहकारीको रकम अनियमित ढंगले गएको पुष्टि भए पनि लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै उक्त विषयमा थप अनुसन्धानको आवश्यकता रहेको औंल्याए।
यस बिषयमा तपाइको प्रतिक्रिया...!