सभामुखले नियमावली उल्लंघन गरेर बैठक चलाएको सांसदको आरोप

Posted on: 07 Jun, 2023

जेठ २४, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले केही दिन अघिको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरुलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको बताएका हुन् । 


उनले सभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार दिएको भन्दै आलोचना गरे । दाहालले भने, ‘मैले भन्नैपर्छ, अस्ति रोष्टमममा उभिएर प्रधानमन्त्रीले जवाफ दिँदै जाँदा यहाँहरुको माग बमोजिम, अघिल्लो दिन यहाँहरुले अवरोध गर्नुभयो । अघिल्लो दिन सदन अवरोध गर्नुभयो । यहाँहरुको माग थियो प्रधानमन्त्री सदनमा आउनुपर्छ । र उहाँले जवाफ दिनुपर्छ । तपाइहरुले प्रश्न गर्नुभयो । प्रधानमन्त्री जवाफ दिन रोष्टममा उभिँदाखेरी उहाँले जवाफ दिन पाउनुभएन । तपाईहरुले प्रधानन्त्रीको हुर्मत लिनुभयो । हेप्नुभयो ।’

उनले प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर बैठक सञ्चालन गर्न आग्रह गरे । ‘सदन चलाउँदा सदनमा हामी स्वतन्त्र छैनौँ । हामी हरेक सांसदहरु स्वतन्त्र छैनौँ । सभामुख पनि स्वतन्त्र हुनुहुन्न् । संविधानको मातहतमा र प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ’ उनले भने– ‘हामी संविधानको मातहतमा रहेर, प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैँले पनि प्रतिनिधिसभा नियमावलीको उल्लंघन गर्नुभएको छ ।’

सांसद दाहालले सभामुखलाई प्रश्न गरे– ‘रोष्टममा तपाईले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि, माननीय सांसदहरुलाई रुलिङ गर्ने ? प्रधानमन्त्रीलाई तपाई चुप लाग्नुस् उहाँहरुले बोल्नुहुन्छ भनेर ।’  उनले प्रतिनिधिसभा नियमावलीअनुसार एकपटक एउटा विषयमा प्रश्न उठाइसकेपछि बारम्बार प्रश्न उठाउन नपाइने बताए । ‘रघुजी पन्तले चारचोटी बोल्नुभयो । योगेश भट्टराईले बोल्नुभयो ।

कमसेकम प्रतिनिधिसभा नियमावलीको मातहतमै रहेर सदन सञ्चालन गर्न र त्यसरी एकपटक स्पष्टिकरण दिइसकेपछि थप फेरि प्रश्न गर्न पाइँदैन’ सांसद दाहालले भने– ‘प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका आदरणीय नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार सभामुखले दिनुभएको छ । त्यसकारणले प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर सदन सञ्चालन गर्न निवेदन गर्दछु ।’

दाहालले देशमा एकाएक वर्तमान सरकार आएपछि मात्रै बेथिति नआएको बताए । उनले बेथिति र समस्याहरुको चाङमा विगतमा सरकारको नेतृत्व गरेको प्रतिपक्ष दल एमालेको पनि सहभागिता रहेको उल्लेख गरे ।  उनले देशमा भएका समस्याहरुको सबै मिलेर स्वामित्व लिनुपर्ने र मिलेर नै बेथिति, अराजकता र अनुशासनहिनताको अन्त्य गर्नुपर्नेमा जोड दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!