प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : जवाफका क्रममा के भने प्रचण्डले ?

Posted on: 07 Jun, 2023

जेठ २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार सार्वजनिक महत्वको विषयमा राष्ट्रियसभालाई जानकारी गराएका छन् । बुधबार राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका विषय र अन्य समसामयिक विषयमा सांसदहरुलाई जानकारी गराएका हुन् ।  प्रधानमन्त्रीले आफ्नो सम्बोधन सकेपछि १५ जना सदस्यले प्रधानमन्त्रीको जवाफका सम्बन्धमा थप प्रश्न गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सदस्यहरुलाई विषयवस्तुमा केन्द्रित रहेर आफ्नो प्रश्न राख्न समय दिएका थिए । 

जसअनुसार केही सांसदले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुन नसकेको धारणा राखे भने केहीले भ्रमणका सन्दर्भमा उठेका प्रश्नका बारेमा थप जवाफ माग गरे । प्रश्न राख्ने सांसद विमला राई पौड्यालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादाको पालना हुन नसकेको बताइन् । उनले ईपीजीको कुरा उठाउँदा माहोल बिग्रन्छ भने त्यो अचम्मको पोको के हो ? भन्दै प्रश्न समेत गरिन् । 

सांसदहरुको प्रश्न यसप्रकार छ–

रामचन्द्र राई – भारतको संसद भवनमा राखिएको नक्सामा नेपालको भूभाग पनि राखिएको छ । त्यो विषयमा भारतसँग बंगलादेशले स्पष्टीकरण सोध्ने भएको छ तर नेपालले यसबारे के गर्छ ? यो बारेमा भ्रमणमा के कुरा भयो ? लक्ष्मणपुर बाँधले नेपालीहरु खासगरी बाँके आक्रान्त छ । भारतले बनाएको संरचनाका कारण नेपालीले पाएको दुःखबारे के कुरा भयो ?

अनिता देवकोटा– सार्कको भविष्य के भयो ? शिखर सम्मेलन कहिले हुन्छ ? भारतीय प्रधानमन्त्रीसँग यो विषयमा कुरा भयो कि भएन । हवाइ रुटबारे के कुरा भयो यसबारे म जान्न चाहान्छु । कालापानीबाट भारतीय सैनिक हटाउने कुरा भयो कि भएन ? 

भगवती न्यौपाने– तपाईँले भारत भ्रमणमा जानुअघि राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएर जुन कोशेली भारत लैजानुभयो, त्यतिमात्रै होइन नेपालको जल भविष्य समेत कोशेली दिनुभयो । नेपालको विद्युत भारतलाई चाहिएको छ, भारतको चाहना पुरा गर्न फुकोट कर्णाली भरातलाई सुम्पिनुभयो । त्यतिमात्रै होइन विद्युतीय गाडीलाई निरुत्साहित र पेट्रोलबाट चल्ने साधनलाई प्रोत्साहन गर्ने बजेट सुनाएर भारत जानु प्रधानमन्त्रीज्यू यो राष्ट्रघात हो कि होइन ? 

इन्दिरादेवी गौतम–फुकोट कर्णाली निर्माण गर्नेबारे सहमति भएको हो भने त्यसको मोडालिटी के छ ? नेपालीले आफ्नो पानीको स्रोत कसरी उपभोग गर्न पाउँछन् ? नेपाल भारतबीचको व्यापार सन्धी पुनरावलोकनको कुरा सुनियो । नेपालको उत्पादन भारतीय बजारमा सहज पुर्याउने बारेमा केही भयो कि  ? 

जीतेन्द्रनारायण देव– प्रधानमन्त्रीबाट भएको भारत भ्रमण उपलब्धीमूलक छ । भारतीय प्रधानमन्त्रीले जसरी नेपाल भारतबीचको सम्बन्धलाई हिमालयको उचाइमा लैजाने भनेर भन्नुभएको थियो, यो पोलिटिकल कमिटमेन्ट आजसम्म कुनै पनि प्रधानमन्त्रीले लिन सक्नु भएको थिएन । 

शारदादेवी भट्ट– लिपुलेक, कालापानी, लिम्पुयाधुरालाई बंगलादेश जाने बाटोसँग साटियो भनेर छ्याछ्याप्ती आएको छ यसबारे प्रष्ट हुन चाहान्छु ।  

भैरवसुन्दर श्रेष्ठ– जुन सम्झौताहरु भएका छन्, जसमा विद्युतसम्बन्धी सम्झौता भएको छ । त्यसमा ग्लोबल टेन्डर बिना भारतलाई सम्झौताको माध्यमबाट किन नेपालका नदीनालाहरु हस्तान्तरण गरिएको छ । त्यसले नेपालप्रति भारतको दृष्टिकोण कस्तो रहन्छ र नेपाली जनताले के सोच्छन् त्यसमा म प्रष्ट हुन चाहान्छु । भूमि साट्ने कुरा राष्ट्रघात हो । 

विमला राई पौड्याल–अफिसियल र कूटनीतिक राहदानी लिएर गएको जम्बो टोलीमा आधिकारिक फोटोग्राफर थिए कि थिएनन् । दौरा सुरुवाल र टोपी लगाएर गएका मान्छेले हाम्रो प्रधानमन्त्रीको अगाडि बसेर मोबाइलले फोटो खिच्न मिल्छ कि मिल्दैन ? यो कूटनीतिक मर्यादा हामीले कहिले सिक्ने र कहिले सिकाउने ?  सीमा विवाद बाहेकको उपलब्धी भनेको प्रधानमन्त्रीनै भारत गएरै गर्नुपर्ने होइन, ईपीजीको कुरा उठाउँदा माहोल बिग्रन्छ भने त्यो अचम्मको पोको के हो ?  

दिलकुमारी रावल थापा (पार्वती)– भारत भ्रमणको उपलब्धी :  मैले सबै कुरा राखेँ मोदीजीले टाउको नि हल्लाउनु भयो । दिनेजति दस्तखत गरेँ, लिनेजति आश्वासन पाएँ । प्रधानमन्त्रीज्यू तपाईँ माओवादीको अध्यक्षमात्रै होइन यो देशको प्रधानमन्त्री पनि हो । यतिधेरै कमजोर किन हुनुभयो ? भ्रमण किन यति धेरै असफिल भयो ?

गोपाल भट्टराई–भैरहवा एयरपोर्टमा बत्ती जडान गर्ने सहमति त भएछ, तर हवाई रुटकै कारण उडान उडानमा समस्या छ । बाटो नपाएसम्म विमानस्थल सञ्चालन हुन सक्नदैन । ईपीजी रिपोर्टबारे किन कुरा भएन ? यो कुरा के हो  ?

कुमार दसौंदी – जनयुद्ध भन्दा अगाडि पनि प्रधानमन्त्रीले भाषण गरेको सुनेको हो । सुस्ता समाधानको विषयमा के कुरा भयो ? त्योबारे जान्न चाहान्छु 

सुमित्रा बीसी–भारत भ्रमण जानुअघि नागरिकता विधेयक प्रमाणीकरण गराउन लगाएको  भारतलाई खुसी पार्न हो ? अपर कर्णालीबारे के कुरा गरेर आउनु भयो ?

जगप्रसाद शर्मा–भारतसँग अरु होइन नेपालले विद्युत बेच्छ भन्ने परिभाषामात्रै होइन नयाँ भास्य स्थापना गरेको छ । भारत र नेपालको बीचमा लामो समयदेखि बिग्रिएको समस्या सुधार भएको छ । हवाइ रुटबारे सकारात्मक वातावरण बनेको छ,  यो हुँदाहुँदै पनि नेपालमा शंकाको वातावरण पनि बनेको छ, यसले देश कसरी बन्ला ?

तुलसा कुमारी दाहाल– भारतसँगको भ्रमणले भारत सफल भएको, नेपालीको भने शिर निहुरिएको छ । कूटनीतिक मर्यादाको पालना भएको छैन । हामीले पानी दियौ र  पेट्रोल लियौँ । अखण्ड भारतको भारतको बारेमा प्रधानमनत्री किन बोल्नु भएन ? तल्लो अरुण पनि दिएर अहाउनु भयो प्रधानमन्त्री ज्यू हामीले हारेर आएका छौँ। 

इन्दु कडरिया–नेपाल भारतबीच २३ जिल्लामा सीमा विवाद छ । नेपालीलाई भारतीय  सुरक्षाकर्मीले हतियारसहित नेपाल पसेर दुःख दिँदै आएका छन्, भारत भ्रमणका बेला यसबारे के कुरा भयो ?

प्रचण्डले जवाफका क्रममा के भने ?

सांसदहरुको प्रश्नपछि प्रधानमन्त्रीले आफ्नो जवाफ दिन सुरु गरेका थिए । सो क्रममा प्रधानमन्त्रीले गम्भीर रुपमा सोधेर आफूलाई स्पष्ट पार्न सहज बनाएको प्रतिक्रिया दिए ।  प्रधानमन्त्रीले भारतीय संसदमा राखिएको नक्साबारे कुरा भएको बताए । तर, यसबारे भारतीय पक्षले कुनै राजनीतिक नक्सा नभएर सांस्कृतिक नक्सा भएको जवाफ पाएको बताए । उनले यसबारे क्रमशः कुरा उठाउँदै गइने बताए । उनले लक्ष्मणपुर बाँधमात्रै नभएर डुबानको समग्र समस्याबारे भरतसँग आफ्नो भ्रमणका क्रममा कुरा भएको बताए । 

उनले वर्षाअघि नै समस्या समाधानका लागि आवश्यक निर्देशन दिइसकेको पनि बताए । यस्तै एयर रुट हाललाई लो अल्टिच्यूट जहाजमात्रै जान आउने दिनेगरी सहमति भएको बताउँदै प्रचण्डले हाइ हल्टिच्यूटबारे थप छलफल गर्नेगरी सकारात्मक वातावरण बनेको बताए । आफूले प्रष्ट रुपमा हाइ अल्टिच्यूटको एयररुटका लागि प्रष्टसँग भारतीय पक्षसँग कुरा राखेको प्रचण्डको भनाइ छ । 

संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्रीले नै सीमा विवाद समाधान गर्ने र दुई देशबीचको सम्बन्धलाई हिमालभन्दा माथि पुर्याउने भनेर भनेको प्रचण्डको भनाइ छ । यस्तै कालापानी, लिपुलेक, लिम्पियाधुरासँग जमिन सट्टापट्टाको कुरा भारतीय पक्षसँग नभएको पनि स्पष्ट पारे । उनले भारतलाई खुसी पार्न नागरिकता विधेयक प्रमाणीकरण भयो भनेर आरोप लगाउनुको औचित्य नभएको पनि जिकिर गरे । यो विषय अदालतमा पुगेकाले अब अदालतको निर्णयलाई नै सम्मान गरेर गइने प्रचण्डको भनाइ थियो । 

यस्तै ईपीजीबारे हाइलेभलमा भने कुराकानी नभएको प्रचण्डले स्पष्ट पारे । तर अरु लेभलमा भने कुरा भएको र विश्वासको वातावरण बनाएर अघि बढ्नेगरी सकारात्मक माहोल बनेको प्रचण्डको भनाइ छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!