सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण : मुख्यमन्त्री कार्की

Posted on: 05 Jun, 2023

जेठ २२, मोरङ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय किताब खाना ललितपुरद्वारा तयार गरिएको ‘प्रादेशिक पिआइएस पोर्टल हस्तान्तरण’ कार्यक्रममा उहाँले पोर्टलको निर्माणबाट प्रदेशका र स्थानीय निकायका कर्मचारीको मनोबल उच्च भएको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले पोर्टलमा कर्मचारीको व्यक्तिगत विवरण व्यवस्थित राख्ने एवं सेवापछि पाउनेपर्ने सम्पूर्ण विषयका अभिलेखीकरणबारे जानकारी दिनुभयो । उहाँले प्रदेशमा राष्ट्रिय किताब खानाको स्थापनाले सङ्घीय संरचनाको कार्यान्वयनलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले हस्तान्तरण भएको प्रादेशिक पोर्टललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि मुख्यमन्त्री कार्यालय तथा सम्बन्धित महाशाखालाई निर्देशन दिनुभयो ।

प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले प्रदेश पोर्टल सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो भएको धारणा राख्नुभयो । राष्ट्रिय किताब खानाका उपनिर्देशक सुशीला अर्यालले पोर्टलले प्रदेशको जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो । उपनिर्देशक अर्यालले मुख्यमन्त्री कार्यालयका सचिव माधवप्रसाद पोखरेललाई उक्त पोर्टल हस्तान्तरण गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!