हाम्रो देशमा पैसाको कमी छैन, म्यानेजमेन्टकै कमी छ : आरजु राणा

Posted on: 11 May, 2023

वैशाख २८, हेटौंडा | नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सांसद डा आरजु राणा देउवाले देशमा पैसाको कमी नभएको बताएकी छन् ।

देश आर्थिक संकटतर्फ गइरहेको चर्चा भइरहेको अवस्थामा बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले देशमा पैसाको कमी नभएको तर त्यसलाई म्यानेजमेन्ट (व्यवस्थापन) गर्न नसकिएको उल्लेख गरिन् ।

बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगले गरेको ‘महिला सशक्तिकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै नेतृ राणले भनिन, ‘मलाई लाग्दैन कि हाम्रो देशमा पैसाको कमी छ । हाम्रो देशमा म्यानेजमेन्टकै कमी हो । हरेक साल बजेटहरु खर्चै हुँदैन् । खर्च नभइ जान्छ ।’

उनले महिला सशक्तिकरणको लागि योजना बनाएर काम गर्नु पर्ने सुझाव दिइन् । उनले अन्तरक्रियाको क्रममा बागमतीमा बालविवाह र बाल श्रमको समस्या रहेको पाइएको भन्दै त्यसको न्युनिकरणको लागि योजना बनाएर प्राथमिकताका साथ काम गर्न पनि सुझाव दिइन् ।

अन्तरक्रियामा सहभागिहरुले प्रदेशमा अझै पनि बालविवाह, बालश्रमसँगै महिला हिंसाका समस्याहरुको रहेको भन्दै प्रदेश र सम्बन्धित निकायको ध्यानाकषर्ण गराएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!