उपाध्यक्ष केदार न्यौपानेसहित दुई जनाले छाडे एकीकृत समाजवादी, एमालेमा फर्किने तयारी

Posted on: 28 Mar, 2023

चैत १४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणी जंगलीले पार्टी परित्याग गरेका छन् ।

पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै नेताद्वयले दिएको राजीनामा मंगलबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका छन् ।

उपाध्यक्ष न्यौपाने एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोतले बतायो । एक महिनाअघि देखि नै एमाले नेताहरुसँग उनको संवाद चलिरहेको थियो ।

उनी एमाले–माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य थिए । एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष बनेका थिए ।

स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलगत्तैदेखि उनी एमाले र नेकपा एस मिल्नुपर्ने पक्षमा थिए । पछिल्लो सत्ता गठबन्धनले यी दुई पार्टीलाई झन् टाढा बनाएपछि न्यौपानेले पार्टी छाडेका हुन् । नेकपा एसमा तेस्रो वरियताका नेता मुकुन्द न्यौपाने उनका दाइ हुन् । उनले पनि एमालेसँग मिल्नुपर्ने भन्दै पार्टी बैठकमा लिखित प्रस्ताव नै पेस गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!