प्रहरीको आन्तरिक शुद्धीकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

Posted on: 24 Mar, 2023

चैत १०, काठमाडौँ | नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् ।

विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने बताउँदै उनले भने, ‘त्यसबाहेक संगठनभित्र आन्तरिक शुद्धीकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’

कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताए । उनले भने, ‘प्रहरीको आचरण र व्यवहारमा पनि शुद्धीकरण गरेर संगठनको छवि उचाल्ने काम मेरो कार्यकालमा हुनेछ ।’

आफूले प्रणालीगत थिति बसाउने गरी काम गर्ने बताउँदै कुँवरले प्रोएक्टिभ पुलिसिङ गर्ने बताए । ३० वर्षे सेवा अवधि कायमै रहे उनीले एक वर्ष प्रहरी नेतृत्व सम्हाल्नेछन् ।

तीन दिनअघि मात्रै सरकारले उनीसहित ५ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा भएका कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका लागि प्रतिस्पर्धी थिए । तीमध्ये १ नम्बर वरियतामा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!