चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेसँग भिड्न झलनाथलाई दबाब, कांग्रेसले के गर्ला ?

Posted on: 24 Mar, 2023

चैत १०, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) पार्टीले बैशाख १० गते हुने बारा–२, चितवन–२ र तनहुँ–१ को उपनिर्वाचनमा एक क्षेत्र पाउनुपर्ने दाबी गरेको छ । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललाई उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनाउनेगरि छलफल चलेको उच्च स्रोतको दाबी छ । नेता खनालले पनि पाँचथर पुगेर आफ्नो दलले मागेजति मन्त्रालय र उपनिर्वाचन हुने तीन क्षेत्रमध्ये एक क्षेत्र नपाए सरकारमा नजाने खुलासा गरेका छन् ।


नेता खनाल आँफै उपनिर्वाचन लड्ने मुडमा पुगेका छन् । चितवन–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उनलाई चुनावी मैदानमा उतार्ने नेकपा (एकीकृत समाजवादी) को तयारी छ । अध्यक्ष माधव नेपालले यसबारेमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताईएको छ।

सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ मा उठ्दैछन् । यसअघि सो क्षेत्रमा उनी नै अत्यधिक बहुमतका साथ विजयी भएका थिए । तर, नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतको फैसलाका कारण उनी सांसदबाट मुक्त भएका थिए । अहिले उनको नागरिकता र पासपोर्टसम्बन्धी विवाद सल्टिएको छ । उनी चुनावी मैदानमा उत्रिने तयारीका साथ चितवनमै सक्रिय हुन थालेका छन् । कांग्रेसका नेताहरुले पनि सो क्षेत्रमा जित्नेगरि तयारी थालेको बताएका छन् ।

सभापति देउवाले उम्मेदवार छनौटको तयारीसमेत थालेका छन् । उम्मेदवार चयन गर्न जिल्लाबाट नाम मगाएका छन् । यसअघि उक्त क्षेत्रमा रवि लामिछाने निर्वाचित हुँदै गर्दा कांग्रेस र एमालेका उम्मेदवार दोस्रो र तेस्रो भएका थिए । कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार थिए । अहिले दुवै जना पूनः चुनाव लड्ने मुडमा छन् ।

चितवन कांग्रेसको बलियो जनाधार भएको जिल्लाको रुपमा परिचित छ । सत्ता गठबन्धनका मुख्य घटकहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले साझा उम्मेदवार तय गर्नसक्ने सम्भावना पनि रहेको चर्चा छ । माधव नेपालले खनाललाई अघि सार्दा देउवाको साथ लिन खोजेका छन् । देउवा भने कुनैपनि हालतमा सो क्षेत्रमा आफ्नो दलबाटै उम्मेदवार बनाउने अडानमा छन् । गठबन्धनमा अहिले मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रित छन् । मन्त्रिपरिषद् विस्तारलगत्तै प्रधानमन्त्री दाहालले गठबन्धनमा उपनिर्वाचनबारे छलफल गर्ने तयारी गरेका छन् । -रिपोटर्स नेपालबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!