बालिकाको हत्या आरोपमा झारफुक गर्ने झाँक्री पक्राउ

Posted on: 06 Mar, 2023

फागुन २२,  बुटवल | झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छिन्

पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने २२ वर्षीय सोनिया रेश्मी रहेकी प्रहरीले जनाएको छ ।

रेश्मीले झारफुक गर्ने बहानामा २० फागुनमा सैनामैना १० झिमझिमे बस्ने १४ वर्षीय सीता ज्ञवालीलाई कुटपिट गरेर हत्या गरेको प्रहरीको आरोप छ ।


सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई मातासँग देखाउन भन्दै अभिभावकले सैनामैना १० बेम्टेनीकी २२ बर्षीया माता सोनिया रेश्मी कहाँ शनिवार साँझ लिएर गएका थिए । 

माता भनिने सोनियाले धामी झाँक्री गरी बोक्सी बकाउने नाममा निर्मम शारीरिक यातना दिएकी थिइन । त्यसपछि उनको शनिबार करिब साढे ९ बजे मृत्यु भएको थियो । लगातार चार–पाँच दिनदेखि बिरामी परेकी सीताको मृत्यु शारीरिक यातनाले भएको स्थानीयको भनाइ छ । 

उनको अन्तिम संस्कार गरेपछि घटना सामसुम भएको थियो । आइतबार साँझ सो घटनाको भिडियो सार्वजनिक भएपछि सीतालाई निर्मम शारीरिक यातना दिएर मृत्यु भएको स्थानीयलाई थाहा भएको थियो ।  

भिडियोमा माता भनिने सोनियाले सीतालाई लछारपछार गरेको, शरीरमा पानी खन्याएको, कपालमा समातेर घिसारेको, जबरजस्ती पानी खुवाएको लगायतका निर्मम तरिकाको यातना गरेको देखिन्छ । 

इलाका प्रहरी कार्यालय सालझण्डीले घटनाको विषयमा जानकारी पाएपछि माता भनिने सोनिया रेश्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले मलामी गएका स्थानीय २३ जना गाउँलेलाई समेत नियन्त्रणमा लिएर सोमबार सोधपुछ गरेको छ ।  

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले माता भनिने सोनिया रेश्मीको शारीरिक यातनाबाटै बालिकको मृत्यु भएको देखिएको बताउँदै माता भनिने सोनियालाई हिरासतमा राखेर जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!