कुरुवा बसेकी नबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अस्पतालका कर्मचारी पक्राउ

Posted on: 30 Oct, 2022

कात्तिक १३, काठमाडौँ । वीरगंजको गण्डक बाईपासमा रहेको एक अस्पतालमा कर्मचारीबाट कुरुवा बसेकी नबालिकालाई करणी गरेको घटना सार्वजनिक भएको छ। 

बाइपासमा रहेको स्पर्श मल्टिस्पेसालिटी हस्पिटलकै कर्मचारीबाट कुरुवा बसेकी नबालिकालाई करणी गरेको आरोप लागेको हो। हाडसम्बन्धी समस्याको उपचार गराइरहेका आफन्तको कुरुवा बसेकी नाबालिकालाई असोज २३ गते राति अस्पतालकै कर्मचारी आकाश मण्डलले जबरजस्ती करणी गरेको प्रहरीले बताए।

बिरामीलाई खाना ल्याइदिने र राति हेरचाहको लागि ती नबालिका कुरुवा बस्दै आएकी थिइन्। अस्पताल व्यवस्थापनको लापरवाहीको कारणले यस्तो घटना भएको परिवारजनको आरोप छ।

प्रहरीका अनुसार मण्डलले अस्पतालकै शौचालयमा लगेर जबरजस्ती गरेको नबालिकले बयान दिएकी छिन्। नबालिकाले दिएको जाहेरीको आधारमा मण्डललाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। आफन्तले दिएको जाहेरीको आधारमा कात्तिक ८ गते मण्डललाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्तासमेत रहेको डिएसपी गिरीले बताए।

अस्पतालका सञ्चालक महेश्वर कुर्मीले भने घटना अस्पतालबाहिर भएको दाबी गरे। प्रहरीमा उजुरी परेपछि मण्डललाई आफैले प्रहरीको जिम्मा लगाएको कुर्मीले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!