छिमेकीको कुटाइबाट एक जनाको मृत्यु

Posted on: 17 Jun, 2022

असार ३, काठमाडौं | पर्साको पकहाँमैनपुर गाउँपालिकामा छिमेकीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । पकाहामैनपुर–१ धोरे बस्ने ६५ वर्षीय दशैं महराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार अनुसार गएराति ११:२० बजेतिर महरा र छिमेकी महेश राम बिच झगडा भएको थियो । केही दिन अघि महेश रामको घरमा एक पुरूष पसेको विषयमा दुवै घरका महिला सदस्यबीच विवाद भएको थियो । त्यसैमा दशैं र महेश पनि मिसिन पुगेका थिए ।

विवादले उग्र रुप लिएपछि महेश रामले दशैंको टाउकोमा लाठीले हानेका थिए । लाठी प्रहारबाट बेहोस भएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको थियो । उपचारको क्रममा दशैं महराको गएराति १ बजे मृत्यु भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पर्साकै छिपरमाई गाउँपालिका २ टिहुकी बस्ने ३२ वर्षीय अर्जुन राम, महेश रामको श्रीमति ५२ वर्षीया रम्बा देबीलाई पक्राउ गरेको हो । कुटपिट गर्ने महेश राम फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!