भारतबाट ल्याइएको ११३ वटा कछुवासहित एक जना पक्राउ

Posted on: 13 Jun, 2022

जेठ ३०, वीरगन्ज | भारतबाट अवैधरुपमा ल्याइएको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतबाट चोर बाटो हुँदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षिय आनन्दलाल टेमानी पक्राउ परेका हुन्। उनको साथबाट ११३ वटा कछुवा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सोमबार बिहान साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाउँको बाटो हुँदै आएका उनलाई ११३ वटा कछुवासहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए।

विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बीआर ०५ ए एफ ०५८३ नम्बरको भारतीय मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा ११३ वटा कछुवा फेला परेको खनालले बताए।

कछुवासहित पक्राउ परेका टेमानीलाई वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!