उपचारका क्रममा पाँच कोरोना सङ्क्रमितको मृत्यु

Posted on: 04 Jun, 2021

जेठ २१, पर्सा (रासस) । बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोरोना सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज–१६ नगवा निवासी ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ः२० बजे र वीरगञ्ज–१७ अलों निवासी ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको बताउनुभयो । 

त्यसैगरी रौतहटको गौर नगरपालिका–७ निवासी ७० वर्षीया महिलाको बिहीबार बिहान २ः३०, बरथवा नगरपालिका–५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार राति ९ः५५ र रौतहटकै रौधामाई नगरपालिका–६ निवासी ४० वर्षीय पुरुषको राति ८ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!