बाढीपहिराले पर्वतका ५० घरपरिवार विस्थापित

Posted on: 16 Jun, 2021

असार २, पर्वत (रासस)। पर्वतका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिराबाट घरमा क्षति पुर्याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । 

बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिराका कारण १८ घरपरिवारलाई मङ्गलबारदेखि नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । यसैगरी वडा नं ७ धाइरिङमा दुई घर विस्थापित बनेको गाउँपालिकाले जनाएको छ । 

यस्तै महाशिला गाउँपालिका–८ घरपरिवार विस्थापित बनेका छन् । गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ आठ घर विस्थापित भएका छन् । उहाँका अनुसार वडा नं १ होश्राङदीको अर्गाउदीका पहलसिङ गुरुङको परिवार विस्थापित भएको छ । पाँच सदस्य रहेको उक्त परिवारलाई स्थानीयवासी लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ । 

वडा नं ३ बालाकोटको हिरुखर्कमा तीन सदस्य रहेको धनबहादुर आलेको परिवारलाई छिमेकीको घरमा, वडा नं ५ लुङ्खु देउरालीको ढाडाखर्कमा पाँचजना परिवार सदस्य रहेको आसबहादुर गुरुङको परिवारलाई छिमेकीको घरमा र सोही ठाउँका टेकराम गुरुङको परिवारलाई पनि छिमेकीको घरमा आश्रय दिइएको छ ।

यस्तै वडा नं २ भोक्सिङमा दुई घर, वडा नं ५ लङ्खुका तीन घर र वडा नं ४ पाखापानीका दुई घर गरी कूल आठ घर विस्थापित बनेका हुन् । वर्षा नरोकिएकाले अझै ठूलो क्षति हुनसक्ने उहाँले बताउनुभयो । 

यसैगरी फलेवास नगरपालिका–३ शङ्करपोखरीको रुग्दीमा पनि स्थानीयवासी बुद्धिसागर रेग्मीको घर उच्च जोखिममा परेको छ । घरको तल्लो भागबाट घरको भित्तासम्मै पुगेको पहिराका कारण घर बग्ने खतरामा परेको हो । वर्षा भएका बेलामा घरमा बस्न नै खतरा भएकाले वर्षाको बेलामा छिमेकीकामा आश्रय दिनुपर्ने अवस्था आएको रेग्मीले बताउनुभयो । 

वर्षाकै कारण विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणी पनि डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको जिल्लाको बिहादी गाउँपालिका–६ मा रहेको सेतीवेणी बजार डुबानमा पर्दा त्यहाँका १० घर विस्थापित भएका छन् ।

त्यसैगरी कुश्मा नगरपालिका–११ पकुवामा पनि ठूलो भागमा पहिरो गएकाले केही घर जोखिममा रहेको स्थानीयवासी दया सुवेदीले जानकारी दिनुभयो । 

मोदी गाउँपालिका–२ देउपुरमा आठ र वडा नं १ भुकताङ्लेमा एक घर जोखिममा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिनुभयो । वडा नं ४ क्याङको ज्यामिरेमा एक घरमा पूर्ण क्षति पुगेको  छ । परिवारलाई छिमेकीकामा आश्रय दिएर सारिएको छ । त्यसैगरी वडा नं ८ चित्रेमा दुई घर विस्थापित बनेका छन् । 

पहिराका कारण जिल्लाभरका खोलानालामा बाढी आएको छ भने अधिकांश सडक अवरुद्ध बनेका छन् । त्यसैगरी खेतीयोग्य जमीनहरु समेत पहिराले पुरिएको स्थानीय तहहरुले जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लाभरि बाढी पहिराले क्षति भए पनि अहिलेसम्म मानवीय क्षति भने नभएको जनाएको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!