पर्वतमा विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द

Posted on: 26 Sep, 2021

 असोज १०, काठमाडौँ । पर्वतमा विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द गरिएका छन् ।  विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको हो । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गर्न थालिएका हुन् । विगत एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रअ गणेश तिमिल्सिनाले जानकारी दिए।

सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेका थिए। त्यसको एक सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको प्रअ तिमिल्सिनाले बताए। पकुवाको साविक वडा नं ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।

बालबालिका तथा विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ। सुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो। थप विद्यार्थीमा सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको तिमल्सिनाको भनाइ छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!