त्रिशूली अस्पतालमा स्वाब सङ्कलन एक साता बन्द

Posted on: 13 May, 2021

 वैशाख ३०, त्रिशूली (रासस) । त्रिशूली अस्पतालमा आरटी–पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन  एक साता बन्द हुने भएको छ ।  अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत सङ्कलित  नमूना सङ्ख्या एकसाताको लागी पुग्ने भएकाले सङ्कलन रोकिएको हो । 

स्वास्थ्य कार्यालयले आज यहाँ सूचना जारी गरी  नुवाकोट, रसुवा र धादिङका स्थानीय तहलाई अबको एक सातासम्म पिसिआर परीक्षणको लागी प्रयोगशालामा स्वाबको नमूना नपठाउन भनेको छ । 

कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेको अनुसार त्रिशूली अस्पतालको प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकोमा हाल एक हजार ५०० भन्दा बढी स्वाब परीक्षणको लागी प्राप्त भएको छ । उहाँको अनुसार जाँच गर्न सङ्कलन गरिएको नमूनाको नतिजा आउन अझै एकसाता लाग्ने छ । 

अस्पतालको प्रयोगशालामा एक पटकमा ९४ नमूना जाँच हुने र प्रयोगशालाबाट नमूनाको नतिजा आउन करीब १० घण्टा लाग्ने भएकाले दैनिक दुई चरणको परीक्षण गरिँदै आएको छ ।

हाल कोरोना सङ्क्रमणको जोखिम वृद्धि हुँदै गएसगैँ परीक्षण गराउने सङ्ख्या बढेको छ । अस्पतालमा पिसिआर परीक्षण निः शुल्क रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!