नुवाकोटमा अक्सिजनसहितको २२२ शय्याको आइसोलेसन

Posted on: 13 May, 2021

रामहरि न्यौपाने । वैशाख ३०, त्रिशूली(रासस)। कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालका अनुसार जिल्लाका अधिकांश स्थानीय तहले पहिलो चरणको कोरोना महामारीको समयमा तयार गरेका आइसोलेसनलाई पुनःसञ्चालनमा ल्याएका छन् भने केहीले यसअघि बनाएको क्वारेन्टिन (सुरक्षित बासस्थान ) लाई स्तरोन्नति गरेर हाल आइसोलेसन शय्यामा रुपान्तरण गरेका छन् ।

“स्थानीय तहले बनाएका आइसोलेसनमा चिकित्सक, अक्सिजन सिलिण्डरसहितको सुविधा उपलब्ध छ”, सूचना अधिकृत खनालले भन्नुभयो, “कोरोना सङ्क्रमितको स्वास्थ्य समस्या नभएसम्म घरमै बस्न र कमजोर महशुस भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न भनेकाले हाल नुवाकोटमा बिरामीको उपचारको लागी शय्याको अभाव देखिन्न ।”

विदुर नगरपालिकाले बट्टार स्थित कर्भडहलमा २२ र नुवाकोट सिटी कम्युनिटी अस्पतालमा १५ गरेर ३७ शय्याको आइसोलेसन तयार गरेको स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिनुभयो । आइसालेसनमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर सहित चिकित्सकको व्यवस्था गरिएको छ । विदुर नपाभित्र हाल ३३२ कोरोनाका सक्रिय सक्रमित छन् । उनीहरुमध्ये स्वास्थ्य समस्या भएका केहीको त्रिशूली अस्पतालमा उपचार भईरहेकाले सुविधायुक्त आइसोलेसन केन्द्र भने खाली छ । 

बेलकोटगढी नगरपालिकामा कोभिड अस्पतालसहित २५ शय्याको आवश्यक सुविधासहित आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख राजेन्दरमण खनालले जानकारी दिनुभयो । लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा ८, किस्पाङमा ५, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा ९, दुप्चेश्वरमा ८, पञ्चकन्यामा ५ र ककनी गाउँपालिका ५ शय्याको आइसोलेसन कक्ष तयार छ ।

आइसोलेसन कक्षमा सबै स्थानमा अक्सिजन सहित अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर, पिपिइ, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पिसिआरको लागि स्वाब सङ्कलन गर्न भिटिएम सहितको सुविधा रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयो । विदुर, बेलकोटगढी, तादी, शिवपुरी, ककनी, म्यागङले बनाएको केन्द्रमा चिकित्सक सहित बिरामीको उपचार सेवाको लागी स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य कार्यालय र जिससले ती केन्द्रको अनुगमन गरेर गर्नुपर्ने सुधारदेखि आवश्यकता अनुसार शय्या बढाउने तयारी गर्न सुझाव दिएका थिए । हाल दुई सय शय्या रहेकोमा आवश्यकताको आधारमा वृद्धि गरेर ३०० सम्म पुरयाउन सकिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

 उहाँका अनुसार बिहीबारसम्म जिल्लामा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ । ती मध्ये अधिकांश घरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । समस्या देखिएका ४४ लाई त्रिशूली अस्पताल भर्ना गरिएको छ भने बाँकी ४ जना स्थानीयहले बनाएको आइसोलेसनमा राखिएको छ । नुवाकोटमा हालसम्म एक हजार ८८० जनामा कोराना देखिएकोमा त्यसमध्ये एक हजार २४९ जना निको भएका छन् । जिल्ला भित्र चार जनाको मृत्यु भएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!