प्रमिलाकुमारीले उम्मेदवारी फिर्ता लिदै रामसहायलाई गरिन् समर्थन

Posted on: 14 Mar, 2023

फागुन ३०, काठमाडौं | उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाकुमारी यादवले आफूले पार्टीका अर्का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गरेको जनाउँदै उम्मेदवारी फिर्ता लिएकी छन् । यादवले सोमबार एक वक्तव्य जारी गरी उम्मेदवार फिर्ता लिएको घोषणा गरिन्।

राष्ट्रियसभाका सदस्य समेत रहनुभएका यादवको वक्तव्यमा भनिएको छ– ‘प्राविधिक रूपमा उम्मेदवारको नामावलीको सूचीमा मेरो नाम रहन गएको भए तापनि म रामसहायप्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आइतबार प्रमिलाकुमारी यादवसँगै चार जनाको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो । आज मंगलबार बस्ने १० दलीय सत्तागठबन्धनले यादवलाई आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ । सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादवसँग जनमत पार्टीका ममता झाको पनि उम्मेदवारी रहेको छ ।

फागुन १२ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेअनुसार गत बिहीबार जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलका नेता रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

त्यसलगतै निर्वाचन आयोगले राष्ट्रपति खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकोले उपराष्ट्रपतिमा महिला वा अन्य उम्मेदवार हुनुपर्ने तर्क गरेको सञ्चारमाध्यममा आएपछि सो पार्टीले दुवै जनालाई उम्मेदवार बनाएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गर्ने सक्ने आशंका गर्दै दुवै जनाको उम्मेदवारी दिइएको थियो । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!