नेपाल वायुसेवा निगमका पाँच क्याप्टेन एकै पटक परे निलम्बनमा

Posted on: 24 Jan, 2023

माघ १०, काठमाडौँ | नेपाल वायुसेवा निगमका पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकै पटक पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेको पहिलो पटक हो |

गत पुस ३० गते काठमाडौँ–हङकङ उडानमा रहेको निगमको जहाज हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा उचाइ व्यवस्थापन नगरी जोखिमपूर्ण अवतरण गराएपछि त्यहाँको एटीसीको निर्देशन अवज्ञा गरेको हङकङ सिभिल एभिएसनले नेपाललाई जानकारी गराएअनुसार पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा निलम्बनमा परेका हुन् । 

त्यस्तै काठमाडौँबाट जापान उड्नेक्रममा मानक उडान प्रक्रिया पालना नगरेपछि यामप्रसाद (वाईपी) ज्वारचन र प्रसन्नशमशेर जबरा निलम्बनमा परेको प्राधिकरणले जनाएको छ। 

जबर्जस्ती जहाज टेकअफ गर्ने क्याप्टेन ज्वारचन र प्रसन्नशमशेर जबरा वाइडबडी जहाज ए ३३०–२०० का क्याप्टेन हुन् भने एटीसीको निर्देशनको अवज्ञा गर्दै जहाज अवतरण गर्ने न्यारोबडी जहाज ए ३२०–२०० का क्याप्टेनहरू रहेका छन्। शनिबारदेखि ती क्याप्टेनलाई ग्राउन्डेड गरेर जाँचबुझ अघि बढाइएको छ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!