‘एमसीसीबाट १० हजारलाई रोजगारी’

Posted on: 12 Jan, 2023

पुस २८, काठमाडौँ | अमेरिकी राजदूत डिन थम्प्सनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको चरणमा रहेको र यसले नेपालको विकासमा महत्त्वपूर्ण सहयोग गर्ने बताएका छन् ।

काठमाडौं उत्रिएको तीन महिनापछि कूटनीतिक मामिलाका पत्रकारसँग बुधबार कुराकानी गर्दै उनले नेपालीको जीवनस्तर उकास्नका लागि अमेरिकाले सधैं काम गरिरहेको बताए ।


‘नेपालकै चाहनाअनुसार यहाँ एमसीसी परियोजना आएको हो, यसले नेपालको पूर्वाधार निर्माण गर्नुका साथै कम्तीमा १० हजार जनालाई रोजगारी दिन्छ,’ उनले भने, ‘अमेरिकाले एमसीसीबाट मात्र होइन, यूएसएआईडीमार्फत पनि नेपाललाई ५ वर्षका लागि ६५० मिलियन अमेरिकी डलर सहयोग गरेको छ । अन्य सहकार्यका कार्यक्रम पनि छन् ।’

उनले यी सम्पूर्ण कार्यक्रमले नेपालको स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन, खाद्य सुरक्षालगायत जनजीवनलाई उकास्ने बताए । उनले एमसीसीअन्तर्गतको सबस्टेसन निर्माणका लागि नुवाकोटको रातमाटेमा र सडक निर्माणका क्रममा दाङमा भइरहेका केही समस्याप्रति आफू अवगत रहेको सुनाए ।

राजदूत थम्प्सनले नेपालको नयाँ सरकारसँग काम गर्न अमेरिका इच्छुक रहेको बताए । उनले भविष्यमा दुई मुलुकबीचमा उच्चस्तरीय भ्रमणका लागि पनि आफूले पहल गर्ने प्रस्ट पारे । उनले दुई मुलुकका नेताबीच कूटनीतिक प्रक्रियामा मात्र नभएर व्यक्तिगत रूपमा पनि सम्बन्ध हुनुपर्ने प्रस्ट पारे ।

नेपालले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा सहभागी नहुने निर्णय गरे पनि यसले दुई मुलुकबीचको सहकार्यमा फरक नपर्ने बताए । नेपालले आफैं उक्त कार्यक्रममा सहभागिता जनाउन चाहेको र पछि आफैंले सहभागिता नजनाउने भनेको उनको भनाइ थियो । उनले नेपालमा कुनै पनि अमेरिकी सेना नआउने प्रस्ट पारे । राजदूत थम्प्सनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको संलग्नता नहुने बताए ।

थम्प्सनले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिबारे नेपालमा अर्कै रूपमा व्याख्या भएको बताए । उनले भने, ‘त्यो भनेको इन्डो प्यासिफिक पोलिसी हो । अमेरिकाले यो क्षेत्रमा लिएको नीति हो ।’ उनले तिब्बती शरणार्थीको मामिला संवेदनशील रहेको उल्लेख गरे ।

तिब्बती शरणार्थीलाई अमेरिकाले राजनीतिक रूपमा नभएर मानवीय रूपमा सहयोग गरेको उनले दाबी गरे । तिब्बती शरणार्थीको मामिलामा नेपालले खेलेको भूमिकाको पनि उनले प्रशंसा गरे । -कान्तिपुर दैनिकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!