यी तीन कारणले एकीकृत समाजवादीसँग एकता गर्न डराइरहेछ एमाले

Posted on: 04 Jan, 2023

पुस २०, काठमाडौँ | केही दिनयता नेकपा एमाले र त्यही पार्टी फुटेर बनेको नेकपा एकीकृत समाजवादीबीच एकताका प्रयास भइरहेको चर्चा सुनिन थालिएको छ।

एमालेका दोस्रो र तेस्रो तहका नेताहरुले दुई पार्टीबीच एकताको प्रयास गरेको देखिँदैछ। एमालेका ती नेताहरु समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितलाई भेटेर एकताको प्रस्ताव गरिरहेका छन्। 

एकीकृत समाजवादीका अध्यक्ष नेपालदेखि सम्मानित नेता झलनाथ खनाल तथा अन्य पदाधिकारीसँग एमालेका केही नेताहरुले पछिल्लो दिन बाक्लो भेटघाट गरिरहेका छन्। एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एक साताअघि अध्यक्ष नेपालसँग कोटेश्वर पुगेरै भेट गरे।


पछिल्लो समय नयाँ गठबन्धनको खाका कोरेर एमालेले राजनीति आफ्नो पक्षमा पार्न एमाले सफल भएको छ। तर, संसदमा पहिलो पार्टी बन्न उसलाई एकीकृत समाजवादी चाहिन्छ। जसले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा चुनावमा १० सिट जितेको छ।

त्यही भएर एमालेले एकीकृत समाजवादीका नेताहरुसँगको छलफललाई तीव्रता दिएको छ। तर, त्यस पार्टीलाई एमालेमा कसरी मिसाउने विषयमा एमालेका नेताहरुबीच एकमत छैन।

उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका केही नेताहरु एकता होइन, समाजवादीका नेताहरुलाई पार्टीमा प्रवेश गराउनुपर्ने अडानमा छन्।

एमालेलाई नेपालले फुटाएकैले मंसिर ४ को चुनावमा पहिलो पार्टी हुन नसकेको झोँक उनीहरुमा छ। त्यहीकारण उनीहरु अध्यक्ष नेपालबाहेकका नेतालाई मात्रै पार्टीमा भित्र्याउन खोजिरहेका छन्। 

उपमहासचिव प्रदीप ज्ञवालीले विगतमा एमाले सिध्याउन खेलेको भूमिकाप्रति नेपालले पहिले पश्चाताप गर्नुपर्ने बताए।

‘उहाँहरु दलका रुपमा रहनुभएन, अनि एकता कसरी?’ ज्ञवालीले प्रश्न गर्दै भने, ‘एमाले समाप्त पार्न खेलेको भूमिकाप्रति आत्मलोचना गर्दै पश्चाताप गरेर माफी नमागेसम्म उहाँहरुलाई स्वीकार्न सकिँदैन।’

‘अध्यक्ष दिएर पार्टी विभाजन रोक्न अन्तिम प्रयास गर्दा पनि नमानेर एमालेलाई ठूलो क्षति पुर्‍याउन भूमिका खेल्नुहुने नेपालजीलाई त्यत्तिकै स्वीकार गर्न सकिन्न, उहाँले गरेको गल्तीको रियालाइजेसन हुनैपर्छ,’ ज्ञवालीले थपे।

उपाध्यक्ष सुवास नेम्वाङले पनि पार्टी विभाजनको औचित्य पुरा नभएकोले आफ्नै घर फर्किनुपर्ने बताए।

‘एकताको कुरै होइन, आफ्नै घर आउने हो बस्ने हो,’ उनले भने, ‘जनताको मतले उहाँहरुलाई पार्टीमै फर्कन भनिसकेको छ। २० प्रतिशत लिएर निस्कनुभएको थियो तर, ३ प्रतिशत ल्याउन सक्नुभएन। जनमतले विभाजन अस्वीकार गरिसक्यो र औचित्य स्थापित नभएपछि आफ्नै घर फर्कने हो।’

‘घर फर्कदा प्रश्न हुँदैन, हिजो घरबाट छुट्टिँदा जुन भूमिका थियो, अब सम्मानका साथ त्यही पाउनुहुनेछ,’ नेम्वाङले थपे।

तर, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरु भने एकतामा जानुपर्ने पक्षमा छन्। 

पहिला एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिनुपर्ने अनि मात्रै वार्ता र संवादको ढोका खुल्ने उपमहासचिव तथा पार्टी प्रवक्ता गुरुङ बताउँछन्। 

‘एकताको प्रक्रिया सुरु नै भएको छैन, पहिला उहाँहरुले पुरानो गठबन्धन (कांग्रेससहित) लाई दिएको समर्थन फिर्ता लिएर प्रचण्ड नेतृत्वको सरकारलाई दिनुपर्यो,’ उनले भने, ‘वामपन्थी-देशभक्तहरुको यो गठबन्धनलाई समर्थन गरेपछि एकताको पहल गर्ने बाटो खुल्छ।’

‘एकताको लागि हतार गर्नु हुँदैन, कसैको आग्रहले हुने होइन, गठबन्धनमा मिसिएपछि पावर सेयरिङ, सरकारमा सहभागिताको कुरा हुन्छ, यो अलिक टाढै छ,’ उनले थपे।

एकता कि पार्टी प्रवेश भन्ने विषयमै नेताहरु एकमत नहुँदा एकीकृत समाजवादीसँग औपचारिक वार्ता, छलफल र संवाद नभएको उनले बताए।

पछिल्ला भेटघाट सरकारलाई समर्थन गराउनमै केन्द्रित भएको हुन सक्ने उपमहासचिव प्रदीप ज्ञवालीको बुझाइ छ। 

एक पदाधिकारीले तीन कारणले एमाले हच्किएको खुलाए। पहिलो, पावर सेयरिङ गर्नुपर्ने डर। नेपाललाई राष्ट्रपति बनाएर भए पनि एमालेमा मिसाएर ठूलो पार्टी बनाउन एकथरी नेताहरुले दबाब दिइरहेका छन्। तर, अध्यक्ष केपी शर्मा ओली विगतमा आफूलाई साथ दिएका नेताहरुलाई दिन ठिक्क पारेको पद दिन नेपाललाई दिन तयार छैनन्। 

‘सिधै नभने पनि माधवजीलाई राष्ट्रपति दिएर यता ल्याउन सकिन्छ। तर, त्यसो गर्दा आफ्नै भागमा परेको पावर नै सेयर हुने अध्यक्षले विश्लेषण गर्नुभएकै छ,’ ती पदाधिकारीले सुनाए, ‘यसो गर्न केही साथीहरुले दिँदैनन्। उनीहरुले निकै चित्त दुखाएका छन्।’

दोस्रो, त्यसरी ल्याउँदा माधव, प्रचण्ड र शेरबहादुर मिलेर फेरि समस्यामा पार्ने जोखिम छ।

‘माधवजीले विगतमा एमालेको सरकार ढाल्नुभयो। कांग्रेससँग मिलेर अध्यादेश ल्याएर एमाले फुटाउनुभयो,’ उपमहासचिव ज्ञवालीले भने, ‘एमाले कमजोर बनाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोज्नुभएकै हो।’

‘कांग्रेस पहिलो पार्टी भएकोले सरकार बन्ने र भत्किने प्रक्रिया फेरि हुन सक्छ। अध्यक्ष ओलीसँग कुरा नमिलेपछि तीन जना एकैठाउँमा उभिए के गर्ने? यसकारण पनि एमाले-एकीकृत समाजवादी एकता अलि टाढै छ,’ अर्का पदाधिकारीले विश्लेषण गरे।

र तेस्रो, माधव नेपालले गुट बनाउने खतरा।

अध्यक्ष केपी शर्मा ओलीसँग बिच्किएका नेताहरु माधव नेपालतिर खुल्न थाले भने पार्टीभित्र फेरि गुट बन्ने चिन्ता उनीहरुलाई छ। आठौँ र नवौँ महाधिवेशनमा नेपाल गुट एमालेभित्र निकै शक्तिशाली थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!