नेपालीलाई विश्वकप फुटबल हेर्न महँगो पर्ने, दर्शकबाटै ५० करोड उठाउने तयारी

Posted on: 27 Sep, 2022

असोज ११, काठमाडौं | आगामी मंसिर ४ गतेबाट विश्वकप फुटबल सुरु हुँदैछ। पहिलो खेलमा आयोजक कतार र इक्वेडर आमनेसामने हुनेछन्। कतारका मैदानमा पुगेरै विश्वभरबाट लाखौं मानिसले फुटबल हेर्न पाउनेछन्। त्यसबाहेक विश्वका अर्बौं मानिसका लागि लाइभ फुटबल हेर्ने स्रोत हो, टेलिभिजन च्यानल, ओभर द टप (ओटीटी) वा अन्य यस्तै माध्यम।

विश्वको सबैभन्दा ठूलो खेल मेला हेर्नका लागि नेपालमा पनि अहिलेदेखि नै योजना बनाउनेहरुको कमी छैन। तर प्रश्न उठ्छ यसपटकको विश्वकप कसरी हेर्ने? 


सन् २०१८ को विश्वकप फुटबल हेर्न दर्शकले नेपालकै दुई वटा तथा विदेशका अन्य टेलिभिजनहरुमा पनि सजिलै पाएका थिए, त्यो पनि कुनै अतिरिक्त शुल्क नतिरी । नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजनबाहेक स्टार स्पोर्टस् र सोनी च्यालनमा विश्वकप हेरेका दर्शकले यसपटक ती च्यानलबाट विश्वकप हेर्न पाउने छैनन् । त्यसका लागि उनीहरुले अतिरिक्त शुल्क तिरेर छुट्टै च्यानलमा विश्वकप हेर्नुपर्नेछ ।

नेपालमा विश्वकप फुटबल प्रसारणको अनुमति लिएको मिडिया हबले यसपटक विज्ञापन र दर्शकबाट दोहोरो शुल्क उठाएर विश्वकप देखाउन लागेको हो । मिडिया हबले घाटा लाग्न लागेको भन्दै विश्वकप फुटबललाई ‘पे च्यानल’ बनाएर प्रसारण गर्न लागेको मिडिया हबका अध्यक्ष सोम धितालले बताए । उनले भने, ‘विज्ञापनबाट आशातीत रकम नउठेपछि हामीले दर्शकबाट पनि शुल्क उठाउने तयारी गरेका छौँ ।’

के यसपटक सामान्य अवस्थामा विश्वकप हेर्नै नपाउने गर्न खोजिएको हो भन्ने प्रश्नमा धितालले भने, ‘तपाईको घरमा टेलिभिजन हेर्ने जे माध्यम छ, त्यही माध्यमबाट तपाइले टेलिभिजन हेर्न पाउनुहुनेछ । फरक यत्ति हो कि यसपटक विश्वकप हेर्दा केही थोरै रकम तपाईले तिर्नुपर्नेछ ।’

‘एक्सक्लुसिभ राइट’का कारण महँगो पर्‍यो र दर्शकबाट शुल्क लिन लाग्यौँ

नेपालमा प्रसारणको अधिकार पाएको मिडिया हबले यसपटक नेपालमा विश्वकपको संकेत प्रसारणका लागि टेरिटोरी लकसहितको एक्सक्लुसिभ अनुमति ल्याएको भन्दै त्यसै कारणले लाइसेन्स नै महँगो परेको जनाएको छ । धितालले भने, ‘विश्वकप हामीले धेरैपटक ल्याएका छौँ । पहिले निःशुल्क प्रसारण पनि गरेका थियौँ । तर यसपटक हामीले एक्सक्लुसिभ राइट लियौँ र त्यसको शुल्क अलि महँगो प¥यो । लगानी धेरै भएको कारण विज्ञापनले मात्रै हामीलाई थेग्न सकेन । विज्ञापनले थेगेको भए हामी दर्शकलाई पैसा किन तिराउने भनेर सित्तैमा गथ्र्यौँ, तर विज्ञापनको पैसाले मात्रै नपुगेका कारण दर्शकबाट पनि रकम उठाउने बाध्यतामा पुगेका छौँ ।’

करिब ४० करोड खर्च भयो

मिडिया हबका अध्यक्ष धिताल विश्वकपको संकेत प्रसारणका लागि करिब ४० करोड खर्च भएको दाबी गर्छन् । विज्ञापनबाट आधार रकम पनि नउठेपछि आफूले बाध्य भएर दर्शकबाटै उठाउन लागेको उनले बताए । धितालले भने, ‘हामीले प्रसारणको अनुमति लिँदा डाइरेक्ट खर्च नै ३० करोड र अन्य खर्च गर्दा ४० करोडजति पुगेको छ । हामीले दुई वर्ष अगाडि नै निवेदन दिएका थियौँ र त्यसका लागि बैंकको प्रोसेस आदि सबै गर्नुपर्छ । त्यसकारण ४०–४१ करोड यसको लागत पुगेको छ ।’

त्यो लागत उठाउन विज्ञापनले मात्रै नपुग्ने उनको भनाइ छ । विज्ञापनबाट लागतको मोटामोटी आधा हिस्सा असुल हुने र आधा लागत दर्शकबाटै उठाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए । उनले भने, ‘त्यही भएर हामीले पेड च्यानल बनाउन लागेका हौँ । हामी कुनै एउटा टेलिभिजनलाई प्रसारण संकेतका लागि रोज्छौँ । अहिले दर्शकले जुन माध्यमबाट टेलिभिजन हेरिरहनु भएको छ, त्यहीँबाट हेर्न पाउनुहुनेछ, यद्यपि त्यसमा केही शुल्क भने तिर्नुपर्छ ।’

प्रति सेट टप बक्स ५०० उठाउने तयारी

मिडिया हबका अनुसार ६४ खेलका लागि प्रति सेट टप बक्स ५ सय रुपैयाँ उठाउने तयारी गरिएको छ । करिब १० लाख दर्शकबाट ५ सय रुपैयाँका दरले उठाएर पेड च्यानल बनाई प्रसारण गर्ने तयारी भएको हो । त्यसका लागि डिटिएच र केबलसँग कुराकानी भइरहेको धितालले बताए । उनले भने, ‘जसरी तपाईले डिस होम, नेट टिभी, क्लियर टिभी आदिलाई शुल्क तिरिरहनु भएको छ, त्यसमा एक्स्ट्रा ५०० रुपैयाँ मोटामोटी रुपैयाँ थप रकम उठाउने तयारी गरेका छौँ, त्यो भनेको पूरै विश्वकपभरिको शुल्क हो । त्यो रकम पनि डिटिएच र हामी सेयरिङ गर्छौँ ।’

विदेशी च्यानलमा विश्वकप नआउने

धितालका अनुसार यसपटक नेपालमा कुनै पनि विदेशी च्यानलबाट विश्वकप आउने छैन । नेपालका लागि मिडिया हबले टेरिटोरी लकसहितको एक्सक्लुसिभ राइट लिएको कारण अन्य च्यानलले नेपालमा प्रसारण गर्न नपाउने उनले बताए । उनका अनुसार सन् २०१८ को विश्वकपमा सोनीका चारवटै च्यानलले विश्वकप देखाएको थियो । नेपाली च्यानलमा नेपाल टिभी र कान्तिपुरले पनि विश्वकप म्याच प्रसारण गरेका थिए ।

उनले भने, ‘यस्तो अवस्थामा विदेशी च्यानलको दबदबा देखियो । डोमिनेट यस्तो देखियो कि हामी विज्ञापन खोज्न जाँदा पनि डोमिनेट हुनुपर्ने, हाम्रो प्रसारण संकेतभन्दा उनीहरुकै प्रसारण संकेत राम्रो देखिने लगायतको समस्या थियो । त्यसकारण यसपटक बढी रकम तिरेरै हामीले एक्सक्लुसिभ राइट किनेका छौँ र कुनै पनि विदेशी च्यानल र कुनै पनि विदेशी सिग्नल नेपालमा आउन नपाउने गरी हामीले एक्सक्लुसिभ राइट किनेका छौँ । अब विदेशी च्यानलमा विश्वकप आउने छैन ।’

छुट्टै च्यानल क्रियट हुने

धितालका अनुसार नेपालको कुनै टेलिभिजनलाई प्रसारणको अधिकार दिँदा पनि उक्त टेलिभजिनले नियमित प्रसारणकै च्यानल नभई छुट्टै च्यानल बनाएर प्रसारण गर्नेछ । उनले भने, ‘जस्तो कि सामान्य अवस्थामा नेपाल टेलिभिजन हेर्ने र विश्वकप नहेर्ने हो भने नेपाल टेलिभिजनको प्रसारण जारी नै रहन्छ । तर यदि विश्वकप हेर्ने हो भने नेपाल टेलिभभिजनले एउटा सेकेण्डरी च्यानल बनाउँछ र त्यो च्यानलमा मात्रै विश्वकप हेर्न पाइन्छ । पहिलेकै अवस्थामा नेपाल टेलिभिजनमै विश्वकप हेर्न भने पाइँदैन ।’

ग्राहकले रकम तिरेपछि सम्बन्धित प्रसारक च्यानलले एक्स्ट्रा च्यानल क्रियट गरिदिने र त्यो च्यानलमा मात्रै विश्वकपको सिग्नल आउने उनको भनाइ छ । उनले थप प्रस्ट पार्दै भने, ‘जस्तो कि १०३ मा फुटबल आउने भनियो भने अन्य च्यानल रेगुलर आइरहन्छ तर १०३ च्यानल हेर्नका लागि तपाईले पैसा बुझाएको हुनुपर्छ । तपाईले पैसा बुझाएपछि मात्रै तपाईको सेट टप बक्स अनलक हुन्छ र उक्त च्यानलमा विश्वकपको संकेत आउँछ ।’

विज्ञापनबाट नउठेपछि ग्राहककै भर

मिडिया हबका अध्यक्ष धिताल विज्ञापनबाट लागत अनुसारको रकम उठाउन नसकेपछि बाध्य भएर टेलिभिजनका दर्शक अर्थात् टिभीका ग्राहकबाटै उठाउन लागेको बताउँछन् । उनले भने, ‘विज्ञापनबाटै रकम उठाउन सकिन्छ भन्ने हामीले अनुमान गरेर एक्सक्लुसिभ राइटका लागि बढी रकमको बिड गरेर टेरिटोरी लकसहितको राइट ल्याएका थियौँ तर हामीले सोचेजस्तो भएन ।’

अहिलेको विज्ञापन बजार त्यति उत्साहजनक नरहेको उनले बताए । सन् २०१८ मा नर्मल राइट लिँदा पनि १४ करोडको विज्ञापन उठाएको आधारमा अहिले ३०–३५ करोड उठाउन समस्या छैन भन्ने लागेर एक्सक्लुसिभ राइट लिएको तर कोभिडको संक्रमण त्यसरी नरोकिएको र विज्ञापनको बजार पनि आशातीत बाटोमा नगएका कारण समस्या परेको उनको भनाइ छ ।

‘अहिले हामीले एक करोडको विज्ञापन माग्यौँ भने ५० लाखको दिनुहुन्छ,’ उनले भने, ‘त्यसकारण विज्ञापनबाटै त्यति धेरै रकम उठ्न सक्ने अवस्था नदेखिएपछि दर्शकबाट पनि रकम उठाउन बाध्य भएका छौँ ।’

विदेशमा पनि पे च्यानलमा आउँछ विश्वकप

धितालले विश्वका अन्य कतिपय देशमा पनि विश्वकप फुटबल पे च्यानलमा मात्रै आउने भन्दै नेपालमा भएको अभ्यासलाई सामान्य रुपमै लिनुपर्ने बताए । व्यापार गर्नेले घाटा हुन लाग्यो भनेर त्यसको भार दर्शकलाई थोपर्ने त भन्ने प्रश्नमा धितालले भने, ‘यो नेपालमा मात्रै होइन, संसारमै चलेको माध्यम हो पे च्यानल । नेटफ्ल्क्सि पनि हामीले चलाइरहेका छौँ, विदेशमा पनि पे च्यानल नै हुन्छ र पैसा नतिरी हेर्न पाइँदैन । यस पटकको विश्वकप पनि अधिकांश देशमा पे च्यानलमै आउने हो ।’

विज्ञापनबाट ४० करोड उठेको हुन्थ्यो भने आफूहरुले दर्शकलाई थप व्ययभार नपार्ने उनको भनाइ छ । ‘तर बजारले सपोर्ट नगरेपछि केही दर्शकले व्ययभार चाहिँ दिनैपर्छ । त्यो भनेको दर्शकले पाँचसय रुपैयाँ तिरे भने पनि ६४ खेलको ५०० रुपैयाँ भन्दा एउटा खेलको कति नै पर्छ र ? फेरि पाँचसय रुपैयाँ लिँदा पनि मैले पूरै पाँच सय पाउने पनि होइन । त्यसमा कर काटिएर जान्छ । मैले डिटिएच र केबुलसँग सेयरिङमा पनि जानुपर्छ । मैले पाउने रकम भनेको त करिब दुई सय रुपैयाँ जति नै हुन्छ होला ।’

ग्राहकबाटै ५० करोड उठाउने तयारी !

मिडिया हबका अध्यक्ष धितालका अनुसार यसपटक विश्वकप फुटबललाई पे च्यानल बनाएर दर्शकबाटै ५० करोडको हाराहारीमा उठाउने तयारी गरिएको छ । त्यो रकम सरकारी कर, डिसहोम लगायतका डिटिएच र केबुल टेलिभिजनले बाँडेर लिने छन् । धितालले भने, ‘१० लाख ग्राहकले पैसा तिरेर फुटबल हेर्छन् भन्ने मैले अनुमान गरेको छु । हालको अवस्था हेर्दा र बुझ्दा करिब २१ लाख दर्शकले केबुल वा डिटिएचमार्फत् विश्वकप हेर्न सक्ने अवस्था देखिएको छ । २१ लाख जति सेट टप बक्स यतिबेला एक्टिभ छ र करिब १० लाख सेट टप बक्स इनएक्टिभ अवस्थामा रहेको पाइएको छ ।’ १० लाख घरमा चाहिँ पक्कै पनि विश्वकपको संकेत आउने गरी सेट टप बक्स जडान हुने आफ्नो अनुमान रहेको उनले बताए ।

नेपाल टेलिकमलाई २४ करोडमा बेच्न लागेको हल्ला गलत

धितालले नेपाल टेलिकमलाई २४ करोड रुपैयाँमा मोबाइलको सिग्नल बेच्न लागेको भन्ने हल्ला गलत भएको बताए । उनले भने, ‘नेपाल टेलिकमलाई २४ करोडमा बेच्न लागेको भन्ने कुरा गलत हो । त्यसमा कुनै सत्यता छैन । हामीले एनसेल र एनटीसीलाई मोबाइलबाटै विश्वकप हेर्न मिल्ने गरी ल्याएको र त्यसका लागि प्रस्ताव त पठाएका छौँ, तर त्यो एकदमै न्यूनतम रकम छ । २४ करोडको हल्लामात्रै हो ।’

दर्शकले माफिया भने पनि स्वीकार गर्छु

मिडिया हबका मालिकसमेत रहेका अध्यक्ष धितालले पे च्यानल बनाएर दर्शकबाट रकम उठाउँदा आफूलाई माफिया भने पनि सहर्ष स्वीकार गर्ने बताए । ‘माफिया छि¥यो भनेर ग्राहकले आपत्ति त जनाउलान् नि ?’ भन्ने रातोपाटीको प्रश्नमा धितालले भने, ‘१९९८ देखि मिडिया हब कतै न कतै जोडिएर विश्वकप देखाइरहेको छ । यसपटक विज्ञापनबाट नधानेपछि हामीले ग्राहकबाटै रकम लिने भनेका हौँ । हामी पूरा घाटामा जाँदैनौं । करिब १८ करोड विज्ञापनबाटै उठाउछौँ । बाँकी रहेको रकम हामीले दर्शकबाटै उठाउने तयारी गरेका हौँ ।’

६४ खेलका लागि अतिरिक्त ५ सय रुपैयाँ शुल्क उठाउँदा दर्शकले आफूलाई माफिया हो भने पनि स्वीकार्य हुने उनको भनाइ छ ।  -रातोपाटीबाट


यस बिषयमा तपाइको प्रतिक्रिया...!