लामखुट्टेले मानिसको आधा जनसंख्या नष्ट पारिसक्यो, डाइनासोर लोप भए तर यी अझै छन् : यस्ता छन् रोचक तथ्य

Posted on: 07 Sep, 2022

भदौ २२, काठमाडौँ | आजभन्दा करिब २३५० वर्ष अघि विश्व जित्ने अभियानमा निस्किएका एलेक्जेन्डर द ग्रेट एउटा लामखुट्टेसँग हारेका थिए । युनानबाट युरोप र एशियासम्म उनले आफ्नो विजयी झण्डा लहराएका थिए तर भारत आइपुग्दा नपुग्दै उनको पसिना छट्यो । एक त यहाँको मौसमले उनलाई र उनको सैनिकलाई साथ दिएन अर्को यहाँका शासकका कडा विरोध उनले झेल्न पाएनन् । झेलम आउँदा आउँदै एलेक्जेन्डर र उनका सैनिकलाई लामखुट्टेले यति टोक्यो कि उनीहरुले आफ्नो ज्यान जोगाएर नै भाग्नुपर्यो । एलेक्जेन्डरलाई मलेरिया भएको बताइन्छ, उनी यसबाट निको हुन सकेनन् । बेबीलोन पुग्ने बित्तिकै उनले मृत्युवरण गरे ।


लामखुट्टेको यस्तै अर्को कहानी एलेक्जेन्डरको मृत्युको करिब २२०० वर्ष पछि भएको दोस्रो विश्वयुद्धको जमानामा जर्मन तानाशाह एडोल्फ हिटलरसँग सम्बन्धित छ । हिटलरले विश्वको सबैभन्दा शक्तिशाली देशका सेनालाई हराउनका लागि लामखुट्टेमार्फत् हमला गराउने योजना बनाएका थिए । इतिहासकारको दाबी अनुसार हिटलरले आफ्ना वैज्ञानिकसँग लामखुट्टेलाई जैविक हतियारको रुपमा प्रयोग गर्ने योजना बनाएका थिए ।

एकपटक सोच्नुहोस् त जुन लामखुट्टेलाई हामी साधारण सम्झन्छौँ, त्यसले के मात्रै गर्न सक्दैन ।

विशाल डायनासोरको जमानामा साधारण लामखुट्टे

पार्क र घरमा भिन–भिन गर्ने लामखुट्टेको अस्तित्व लाखौँ वर्षको हो । त्यतिबेलादेखि जब डायनासोर अस्तित्वमा थिए । लामखुट्टेको संख्या करिब ११० खर्ब छ । विश्वमा लामखुट्टेका २ हजारभन्दा बढी प्रजाति छन् जबकी मानिसको पछिल्लो दुई लाख वर्षमा ९ प्रजाति रहे जसमध्ये अहिले एउटै प्रजाति ‘होमो सेपियन्स’ बाँकी छ ।

पछिल्लो दुई लाख वर्षमा १० हजार ८०० करोड मानिस पृथ्वीमा बसे र पाँच हजार करोड मानिसको ज्यान लामखुट्टेले लियो । यो दाबी इतिहासकार टिमोथी सी.वाइनगार्डको किताब ‘द मस्किटो ः ह्यूमन हिस्ट्री अफ आवर डेडलियस्ट प्रिडेटर’ मा गरेका छन् । यसमार्फत् पनि अन्दाज लगाउन सकिन्छ कि लामखुट्टे मानिसमा कसरी भारी रह्यो ।

कानमै किन कराउँछ लामखुट्टे ?

मानिसलाई सधैँ पोथी लामखुट्टेले मात्रै टोक्छ तर लामखुट्टेले सधैँ किन कानमै कराउँछ भन्ने सोच्नुभएको छ ? केहीलाई यो लामखुट्टेको आवाज भन्ने लाग्छ तर यो उनीहरुको पखेटाको आवाज हो । लामखुट्टेले आफ्नो पखेटा निकै तीब्र गतिमा फर्फराउँछ । केही शोधका अनुसार लामखुट्टे कानमा नै किन कराउँछ भनेँ कानमा केही ब्याक्टेरिया हुन्छ र लामखुट्टे कानको गन्धबाट आकर्षित हुन्छ ।

यी लामखुट्टेले बिरामी बनाउन सक्ने

एडिज

चिकनगुनिया, डेंगु, लिम्फेटिक फाइलेरिया, रिफ्ट भ्याली फिभर, जन्डिस, जिका

एनाफिलिज

मलेरिया, लिम्फेटिक फाइलेरिया (अफ्रिकामा)

क्युलेक्स

जापानी इन्सेफलाइटिसस, लिम्फेटिक फाइलेरिया, वेस्ट नाइल फिभर

लामखुट्टेलाई रातो –सुन्तला रंग बढी मन पर्छ

अमेरिकाको युनिभर्सिटी अफ वासिङ्टनको अनुसन्धानका अनुसार लामखुट्टे रातो, सुन्तला जस्ता चम्किलो रङहरूमा बढी आकर्षित हुन्छन् । वास्तवमा, लामखुट्टेको आँखालाई रातो–सुन्तला रङले संकेत पठाउँछ । त्यसैले, जब कुनै व्यक्तिले चम्किलो वा गाढा रंगको लुगा लगाउँछन्, लामखुट्टे बढी आउँछन् । यस्तै, लामखुट्टेले बिहानको तुलनामा साँझमा धेरै टोक्छन् किनभने त्यस समयमा वायुमण्डलमा कार्बन डाइअक्साइड बढ्छ र यसलाई सुँघेर मात्रै लामखुट्टेले आफ्नो शिकार पत्ता लगाउँछन् ।

अफ्रिकी देश अल्जेरियामा सैनिक बिरामी परेका थिए

लामखुट्टेबाट हुने मलेरिया पत्ता लगाएको कथा फ्रान्सबाट सुरु हुन्छ । यहाँका सेनाका डाक्टर अल्फोन्स लभेरानले सन् १८८० मा मलेरियाको परजीवी पत्ता लगाएका थिए । सन् १८७८ मा, उनको पोस्टिङ उत्तर अफ्रिकी देश अल्जेरियामा भयो । त्यतिबेला धेरै सैनिकहरू रहस्यमय रोगसँग लडिरहेका थिए । उनले यसबारे अनुसन्धान गरे त्यसपछि मलेरिया भन्ने पत्ता लाग्यो । पहिला मलेरिया दूषित हावाका कारण फैलिन्छ भन्ने बताइएको थियो तर पछि फ्रान्सका वैज्ञानिक लुई पास्चरले यो रोग प्यारासाइट्स (परजीवि) का कारण हुने पत्ता लगाए ।

समयसँगै फेरियो औषधी

गर्भावस्थामा प्रतिरोधी क्षमता कमजोर हुन्छ, लामखुट्टेले टोक्नु खतरनाक

भारतको क्लाउडनाइन अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. रितु सेठीले गर्भावस्थामा महिलाको प्रतिरोधी क्षमता कमजोर हुने बताउँदै यस्तोमा यदि लामखुट्टेले टोकेको खण्डमा आमा र बच्चालाई क्षती पुग्ने जानकारी दिएकी छिन् । यदि गर्भवती महिलालाई उच्च ज्वरो आयो भने कोखको बच्चामा खतरा निम्तिने गर्छ ।

– गर्भावस्थामा मलेरिया भएको छ र त्यो गर्भनालसम्म पुग्यो भने महिलाको रक्त कोसिका नष्ट हुन्छ । हेमाग्लोबिन कम हुन थाल्छ ।

– डेंगुमा प्लाज्मा फुट्ने गर्छ । उच्च ज्वरो आउँदा शरीरमा पानीको कमी हुन्छ जुन डिहाइड्रेशनको कारण बन्ने गर्छ ।

– यसो हुँदा गर्भमा बच्चालाई रक्त सञ्चार कम हुने गर्छ । गर्भमा पानी कम हुन थाल्छ । यस्तोमा भ्रुण नष्ट पनि हुनसक्छ ।

– चिकनगुनियामा पनि उच्च ज्वरो आउँछ, त्यतिबेला पनि डिहाईड्रेशनको डर रहन्छ ।

– यसमा गर्भपतनको आशंका रहन्छ । समय अगावै जन्म पनि हुनसक्छ । शिशुको तौल कम हुनसक्छ ।

घातक मलेरिया

सन् २०२० को विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार विश्वका २४ करोड मानिसलाई यो रोग लाग्यो जसमध्ये ६ लाखको मृत्यु भयो । २.५ करोड गर्भवती हरेक वर्ष शिकार हुन्छन् । यीमध्ये १० हजार गर्भवतीले ज्यान गुमाए भने दुई लाख भ्रुण नष्ट भयो ।

गर्भवती महिलालाई लामखुट्टेले किन बढी टोक्छ ?

बेलायतको डरहम विश्वविद्यालय र मेडिकल रिसर्च काउन्सिल इन गाम्बिया, अफ्रिकाको अनुसन्धानले बताए अनुसार लामखुट्टेले गर्भवती महिलालाई साधारण मानिसलाई भन्दा बढी टोक्छ । लामखुट्टेलाई कार्बनडाइअक्साइडको गन्धले आकर्षित गर्छ । गर्भवती महिलाले सामान्य मानिसभन्दा २१ प्रतिशत तेज गतिमा सास फेर्छिन् । यसका कारण कार्बनडाइअक्साइड पनि बढी मात्रामा निस्कने गर्छ । सास फेर्न यो प्रक्रियामा थोरै पसिना पनि आउँछ । गर्भावस्थामा शरीरको तापक्रम साधारणतया बढी नै रहन्छ । पसिनामा हुने ल्याक्टिक एसिडले पनि लामखुट्टेलाई आफूतर्फ आकर्षित गर्छ । यो एक खालको गन्ध हो जुन पसिना र कार्बन डाइअक्साइडको सम्मिश्रण हो । सुन्दा अचम्म लाग्ला लामखुट्टेले यो गन्धलाई सय फिटको दुरीबाट पनि चिन्दछ ।

समयमै उपचार नभए घातक बन्छ मलेरिया–डेंगु

भारतका डा. सञ्जय गुप्ताका अनुसार मलेरिया दुई प्रकारका हुन्छन् – प्लाज्मोडियम वाइवेक्स र प्लास्मोडियम फेल्सीपेरम ।

प्लास्मोडियम वाइवेक्सको औषधी दिएर घरमा नै निको पार्न सकिन्छ तर प्लास्मोडियम फेल्सीपेरम खतरनाक हुन्छ । यसलाई सेरिब्रल मलेरिया वा मस्तिष्क ज्वरो पनि भनिन्छ । यसमा बिरामीले प्रश्नको जवाफ दिन सक्दैनन्, आफ्नो हात–खुट्टा चलाउन सक्दैनन् ।

यदि यसको उपचार छिट्टै सुरु गरिएन भने २–३ दिनमा ज्यानसमेत जान सक्छ । मलेरिया हुँदा कलेजो र मृगौलामा असर पर्न थाल्छ । कलेजोमा असर पर्दा बिरामीलाई जन्डिस हुनसक्छ । मृगौलामा असर परे पिसाब आउन बन्द हुन्छ । यो चरण खतरनाक हो ।

यस्तै, डेंगु चार प्रकारका हुन्छन् तर बिरामीलाई डेंगु शक सिन्ड्रोम भए यो खतरनाक बन्न सक्छ । डेंगु हुँदा रगतमा प्लेटलेट्स कम हुन थाल्छ जुन खतरनाक हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!