अष्ट्रेलिया जानका लागि मेडिकल गर्ने नाममा ठगी, नर्भिकले निकाल्यो यस्तो सूचना

Posted on: 28 Jun, 2022

असार १४, काठमाडौं | विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा चलाएको पाइएको जानकारी गराएको हो । 

अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय –  Nepal Press

अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । ‘अष्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्यूल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँदछौं ।’–अस्पतालले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।  

नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा हस्पिटल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत दिइसकेको जनाएको छ । हस्पिटलले यस्ता गिरोहका पछि नलाग्न, त्यस्ताको विषयमा हस्पिटल प्रशासन वा प्रहरीलाई खबर गरिदिन समेत आह्वान गरेको छ । हस्पिटलले अनधिकृत रुपमा विभिन्न गिरोहहरुले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिन समेत आह्वान गरेको छ । 

विज्ञप्तिका अनुसार मेडिकल चेकअपको विषयमा केही बुझ्नुपरेमा वा कुनै द्विविधा भएमा हस्पिटलको सम्पर्क नम्बर ०१५९७००३२ तथा ह्वाट्सअप वा भाइबर नम्बर ९८८०८८८००० मा सोझै सम्पर्क राख्न सकिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!