डाइटिङका कारण आधा तौल घटाएकी युवतीका अधिकांश अंगले काम गर्न छाडे, अस्पताल भर्ना

Posted on: 23 Jun, 2022

असार ९, काठमाडौं | अत्यधिक डाइटिङका कारण एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला पछिल्लो समयमा चर्चामा आएकी छिन् । चीनको हुबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो थिइन् । 

१६५ सेमी उचाई भएकी उनले अत्यधिक डाइटिङका कारण एक वर्षमा आधाभन्दा बढी तौल घटाएपछि स्वास्थ्यसम्बन्धी गम्भीर समस्या सामना गरेकी छिन् । सोही कारण उनी अस्पताल भर्ना भएकी थिइन् । 

Slimming-Obsessed Woman Weighs Just 25 Kg After Losing 40 Kg in a Year

हेङ्सुई सहरको एक अस्पतालका चिकित्सकहरू ती महिलाको तौल जम्मा २५ किलोग्राम देखेपछि चकित परेका थिए । उनलाई एनोरेक्सिया नर्भोसा भएको थियो । चिकित्सकहरूका अनुसार खानपानमा असन्तुलन वा अत्यधिक डाइटिङ गर्नेमा यस्तो समस्या देखिने गर्छ । 

उनका विभिन्न अंगले काम गर्न छोडेका थिए । मुटुमा समस्या देखिएको थियो भने कपाल झर्न सुरु भएको थियो । उनलाई ग्यास्टिक हुनुका साथै महिनावारी रोकिएको थियो । 

‘उनलाई एनोरेक्सिया नर्भोसा भएको थियो । शारीरिक र मानसिक अवस्था कमजोरीका बाबजुद उनले खानाका लागि कुनै इच्छा देखाइनन्’, महिलाको उपचार गर्ने एक डाक्टरले भने । उनले अगाडि थपे, ‘उनी गम्भीर बिरामी भइन् र धेरै अंगले काम गर्न छोडेपछि उनलाई उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । ’

जीवनशैलीमा गम्भीर परिवर्तन नगरेमा उनी मर्न सक्ने चेतावनीका बाबजुद ती महिलाले चिकित्सकले सिफारिस गरेको उपचार अस्वीकार गरेकी थिइन् । 

खानेकुरा छाड्नुको अतिरिक्त उनले क्याथर्टिक्स, रेचक र एक्युपङ्चरसहित अन्य तौल घटाउने विधिहरू प्रयोग गरेकी थिइन् । २५ केजी तौल भएकी ती  महिलालाई अहिले सामाजिक सञ्जालमा चीनको ‘पातलोपनको प्रतिक’ भनेर व्यंग्य गरिन थालिएको छ । चिनियाँ संस्कृतिमा पातलो पनलाई सधैं महत्व दिइन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!