नेपालमा पहिलोपटक गधा दिवस मनाइँदै

Posted on: 08 May, 2022

वैशाख २५, काठमाडौँ । सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ रु’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ ।

मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पु(याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको छ ।

तराईदेखि हिमालसम्म विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र काम गर्न नसक्ने भएपछि छाडा छाड्ने प्रवृत्तिले ती जनावरको वंशविनाश हुनेसम्मको समस्या पर्ने गरेको बताइएको छ । 

हाल नेपालमा गधा, खच्चर र घोडा एक लाख ५० हजारभन्दा बढीको सङ्ख्यामा ढुवानी व्यवसायका लागि प्रयोगमा रहेको सो संस्थाले जनाएको छ । सो संस्थाले ललितपुर जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत डुकुछापमा समस्यामा परेका, घाइते, बूढा भइसकेका खच्चर, गधा तथा घोडाको स्याहार केन्द्र स्थापना गरेको छ ।


विशेषगरी काठमाडौँ उपत्यकाका इँटा उद्योगमा काम गराउन भित्रिएका गधा, खच्चर तथा घोडा अशक्त, वृद्ध तथा घाइते भएपछि सडकमा छाड्ने गरिएको छ । समस्यामा परेका त्यस्ता जनावरलाई स्याहार केन्द्रमा लगेर पालन गर्ने गरिएका संस्थाका प्रमुख हरिप्रसाद जोशीले बताए ।

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!