बहराइनले तत्काललाई नेपाली कामदार नलिने

Posted on: 15 Jun, 2021

असार १, काठमाडौं | नेपालमा कोरोना भाइरसको दोश्रो लहरको संक्रमण विश्वस्तरमा चर्चा हुने गरी बढेपछि त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगार क्षेत्रले खेप्नु पर्ने देखिएको छ । खाडी मुलुक  बहराइनले नेपाललाई खतराको सूचीमा राख्दै तत्कालका लागि नेपाली कामदार नलिने निर्णय गरेको छ ।

त्यहाँको लेबर मार्केट रेगुलाटरी अथोरिटीले कोरोना संक्रमणको उच्च जोखिम रहेका मुलुकबाट तत्काल कामदार नलिने बतएको छ । बहराइनको कोरोना भाइरसको उच्च जोखिमको लिष्टमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भियतनाम रहेका छन् । 

बहराइनले नेपालीलाई तत्कालका लागि भिसा जारी नगर्ने गरी गरेको यो निर्णयलाई खाडीका अन्य मुलुकहरुले पनि पछ्याउन सक्ने भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले खाडीका देशमा रहेका नेपाली राजदूतहरुले नेपालमा संक्रमणको दर कम हुँदै गएको विषयमा आश्वस्त पार्नु आवश्यक रहेका बताएका छन् ।

यसअघि विश्वका अति व्यस्त विमानस्थलका प्रमुखहरुले कोरोना भाइरस संक्रमणको विस्तार रोक्न कोभिड राहदानीको अवधारणा सार्वजनिक गरेका थिए । उक्त अवधारणा अनुसार कोभिडपछिको समयमा विदेश यात्रा गर्नेको साथमा भिसा रहेको राहदानीसहित खोप लगाएको प्रमाणपत्रको विद्युतीय प्रति देखाउनु पर्नेछ । 

वैदेशिक रोजगारीमा जाने बाध्यतामा रहेका नेपाली कामदारहरु खोपको पहुँचबाट बाहिरै रहेका छन् । पहुँचवालाहरुले मात्र शुरुमा खोप लगाउन होडवाजी भइरहेको अहिलको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरुले सजिलै खोप लगाउन पाउने विषय सहज नदेखिँदा खोप नलगाएकै कारण रोजगारीबाट बञ्चित हुनुपर्ने अवस्था आउने कतिपयको आँकलन छ । 

- यो समाचार आजको राजधानी दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!