बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु

Posted on: 29 Dec, 2019

पुष १३, काठमाडौँ | आजको नागरिक दैनिकमा छापिएको खबर अनुसार बाँके र बर्दियालाई प्रदेश न. ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न यी दुई जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाजलगायतले कसरत सुरु गरेका हुन् । 

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबाहेक अन्य सबै दल एकमत देखिएका छन् । प्रदेश ५ को अस्थायी राजधानी बुटवल हुँदा बाँके र बर्दिया हरेक हिसाबले पछि परेको, स्थायी राजधानी पनि दाङभन्दा पूर्व तोकिए बाँके र बर्दियावासीलाई अपायक पर्ने भएकाले यस्तो अवस्थामा प्रदेश ५ मा रहनुको औचित्य नरहने निष्कर्ष निकालिएको छ । यसका लागि बाँके र बर्दियामा क्रियाशील राजनीतिक दल, नागरिक समाजलागयतले एक सविचालय समिति गठन गरेका छन् । 

सचिवालय समितिको नेतृत्व नेपालगञ्ज उपमहानगरपालिकालाई दिइएको छ । ‘संघीयता लागु भएपछि बाँके र बर्दियालाई झनै पछाडि पार्ने काम भयो,’ नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले भने, ‘प्रदेश ५ मा राखेर बाँके र बर्दियालाई हरेक कुराबाट वञ्चित गरियो, अब हामी प्रदेश ५ मा रहँदैनौँ, कर्णाली प्रदेशमा गाभिन्छौँ ।’

बाँके र बर्दियावासीको इच्छा र चाहना पनि कर्णाली प्रदेशमै गाभिनुपर्ने रहेको राप्रपाका महामन्त्रीसमेत रहेका राणा बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!