पढाईमा भन्दा पार्टीमा ध्यान, यी हुन् नेकपामा सक्रिय राजनीति गर्ने स्थायी शिक्षक

Posted on: 27 May, 2019

जेठ १३, हेटौडा | तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले शिक्षा ऐनविपरीत शिक्षकलाई कार्यकारिणी पदमा नियुक्त गरेको छ । केहीदिनअघि मात्र बनेको नेकपा मकवानपुरको जिल्ला समितिमा ५ जना शिक्षकहरु नियुक्त भएका छन् । एक सय ४५ जना जिल्ला सदस्यमध्ये ५ जना शिक्षकलाई सदस्यको जिम्मेवारी दिइएको हो ।

नेकपाको सक्रिय राजनीतिक कार्यकर्ता बन्दै जिल्ला सदस्यमा नियुक्त हुनेहरुमा दुईजना त प्रधानाध्यापक नै छन् । पूर्व एमालेबाट ४ जना र पूर्वमाओवादीबाट एकजना शिक्षक जिल्ला समितिमा राखिएका छन् । यसअघिको नेकपा एमाले मकवानपुरका दुई कार्यकाल जिल्ला समितिमा काम गरिसकेका हेटौंडा–२ स्थित सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्माले हालको नेकपाको जिल्ला समिति सदस्यको जिम्मा लिएका छन् ।

त्यस्तै हेटौंडा–१५ स्थित चुरियामाई माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु परियारले पनि नेकपा मकवानपुरको जिल्ला समिति सदस्यको सपथ ग्रहण गरेका छन् ।

यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनकी पूर्व अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद कृष्ण प्रसाद दाहालकी पत्नी पद्मा पौडेललाई पनि जिल्ला समिति सदस्यमा राखिएको छ । उनी हेटौंडा–१० स्थित ज्ञानदा माविकी बहालवाला शिक्षक हुन् । पूर्वमाओवादीनिकट शिक्षक संगठनका पूर्वअध्यक्ष तारानाथ खतिवडालाई पनि पार्टीको मकवानपुर जिल्ला कमिटी सदस्यको सपथ खुवाइएको छ । उनी हेटौंडा–६ स्थित वंशगोपाल माविका बहालवाला शिक्षक हुन् ।

थाहा नगरपालिकास्थित इन्द्रायणी मावि आग्रा मोरियाका शिक्षक कल्याणविक्रम घलान पनि पार्टीको जिल्ला समिति सदस्यको जिम्मेवारी लिँदै सक्रिय राजनीतिमा क्रियाशील छन् ।

शिक्षा ऐन २०२८, ९ औं संशोधनको दफा १६ ङ शिक्षक युनियन, शिक्षक तथा कर्मचारीको पदीय आचारण तथा व्यवस्थाको खण्ड ५ ९छ० मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षकलाई पदबाट हटाइने व्यवस्था रहेको छ । सो खण्डको स्पष्टीकरणमा राजनीतिक दलको कार्यकारिणी समिति भन्नाले राजनीतिक दलको बिधानबमोजिम गठित केन्द्रीय स्तर, प्रदेश स्तर, जिल्ला स्तर वा स्थानीय तहस्तरको कार्यकारिणाी समितिलाई बुझिने स्पष्ट उल्लेख छ ।

कानुनविपरीत काम गर्न छुट छैन

जिल्ला शिक्षा समन्वय ईकाई मकवानपुर प्रमख लिलानाथ गौतमले कानुनविपरीत काम गर्ने जोसुकै शिक्षक कर्मचारीलाई छुट नरहेको बताएका छन् । शिक्षकहरु राजनीतिक दलको कार्यकारिणी पदमा बसेर कार्य गरेको बारे सम्बन्धित स्थानीय तहका शिक्षा समितिले पनि नियमन गर्न चासो देखाउनुपर्ने उनको भनाइ छ ।

‘स्थानीय सरकारलाई देखाएर हामी पन्छिनँ खोजका त होइनौं, तर पहिलाको जिल्ला शिक्षा कार्यालय हुँदाको जस्तो अधिकार हामीमा छैन, स्रोत साधन र जनशक्ति पनि छैन, ऐन कार्यान्वयनमा स्थानीय तहको शिक्षा समितिसमेतले पहल गरे हामीले पनि समन्वय गर्ने थियौं ।’ गौतमले भने । मकवानपुरमा मात्र नभई देशभर नै शिक्षकहरु सक्रिय राजनीतिमा लागेको तर्क गर्दै त्यसलाई नियमन गर्न सबैको पहल आवश्यक रहेको बताए ।

कानुनविपरीत भए बलजफ्ती गर्दैनौं

बहालवाला शिक्षकलाई पार्टीको जिल्ला समितिमा राखिएको विषयमा प्रतिक्रिया माग्दा नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी छिन्तुले शिक्षकहरुले पार्टीमा गरेको योगदानस्वरुप जिल्ला सदस्यमा नियुक्त गर्ने पुरानो परिपाटीले निरन्तरता पाएको बताए ।

‘शिक्षकलाई जिल्ला कमिटीमा राख्ने–नराख्नेबारे उबेला कुनै कुरा उठेन, जिल्लाबाट सिफारिस गरी पठाइयो, उहाँहरुलाई केन्द्रले नै जिल्ला सदस्य नियुक्त गरेर पठायो ।’ पुलामीले भने– ‘यो कानुनविपरित हुँदा हामीले बलजफ्ती गर्ने कुरा आउँदैन, हामीले पनि हटाउनुपर्ने हुनसक्छ, हामी छलफल गर्छौं।’

अक्मक्किए प्रधानाध्यापक

नेकपा जिल्ला समिति सदस्य नियुक्त भएका पूर्व एमालेको पनि जिल्ला सदस्य भएर काम गरेका सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले पेशागत प्रतिनिधित्व गरी पार्टीको कार्यकारी जिम्मेवारीमा राख्ने पुरानो प्रचलन भएको बताए । ‘पहिले पनि म एमालेको दुई कार्यकाल जिल्ला सदस्य भइसकेको हुँ, शिक्षकबाट पनि जिल्ला सदस्य नियुक्त गर्ने प्रचलन रहेको छ ।’ उनले भने । बहालवाला शिक्षकले पार्टीको कार्यकारी जिम्मेवारी लिँदा शिक्षा नियमावली विपरित भयो नि, भन्ने प्रश्न राख्दा शर्मा अक्मक्किए ।

पढाईमा भन्दा पार्टीमा ध्यान

यता नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले पनि विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकहरुलाई कारबाही गर्नुपर्ने बताए । ‘शिक्षकहरु नै सक्रिय राजनीतिमा लागेपछि पढाईमा भन्दा बढी पार्टीमा ध्यान हुन्छ, अनि विद्यार्थीले के सिक्ने रु’ चौलागाईंले भने । ऐनविपरीत कार्य गर्ने छुट कसैलाई नभएको उनले बताए । सरकार चलाउने, पार्टीले नै कानुनको उल्लंघन गरेको भन्दै उनले आपत्ति जनाए ।

- साझाकुरा दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!