‘चिलगाडी’ चढ्ने रहर अधुरै

Posted on: 30 Oct, 2017

कात्तिक १३, काठमाडौँ । वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । 

कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा जहाज अवतरण भएको नौ महिना बिते पनि कोटवाडामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निरास बनेका छन् ।

करिब ३१ वर्ष लगाएर निर्माण गरिएको उक्त विमानस्थलमा गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो । अाजको अन्नपूर्णमा खबर छ-परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । परीक्षण उडानले हर्षित स्थानीयले त्यसपछि भने आँगनमा जहाज देख्न पाएनन् ।

जिल्लाको एक मात्र यो विमानस्थल सदरमुकाम मान्मदेखि करिब पाँच घन्टाको पैदल दूरीमा छ । सडक यातायातको पहुँच नपुगेको कोटवाडा आसपासका बासिन्दा परीक्षण उडान सफल भएको नौ महिनासम्म पनि नियमित उडान हुन नसक्दा निरास भएका छन् ।

‘पोहोर माघमा चिलगाडी गाउँमै आयो, हामी सबै हेर्न गएका थियौं’, कोटवाडाकी हस्ता विष्टले भनिन्, ‘आँगनबाटै चढ्न पाउने भयौं भनेर खुसी भएका थियौं, हाम्रो रहर अधुरै रह्यो । त्यही एकदिन मात्र आयो, त्यसपछि त चिलगाडी फर्केरै आएनन् ।’

कोटवाडामा अघिल्लो वर्ष परीक्षण उडानका बेला अवतरण गरेको जहाज हेर्दै स्थानीय ।

स्थानीय बासिन्दा हीरामणि उपाध्याय भन्छन्, ‘गाउँमा न सडक पुगेको छ न त विमानस्थल नै सञ्चालन भयो । परीक्षण उडानपछि जहाज फर्केर आएनन्, हाम्रा दुःखका दिन कहिलेसम्म रहने हुन् खै ? ’जहाज नियमित सञ्चालनमा आएपछि जिल्लाबाहिर आवत-जावत गर्न सजिलो हुने अपेक्षा गरेका स्थानीय यतिबेला जहाजको पर्खाइमा छन् ।

नियमित उडान नभएपछि बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । परीक्षण उडान भएको एक वर्ष पुग्नै लाग्दा पनि जहाज नआएको भन्दै स्थानीय हर्कबहादुर शाहीले आफूहरूमाथि अन्याय भएको बताए । कोटवाडा क्षेत्रमा अहिले पनि सडकको पहुँच छैन । भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा हवाई सेवा एक मात्र भरपर्दो विकल्प हो । तर, स्थानीय बासिन्दा पैदल हिँड्न बाध्य छन् । निर्माण सम्पन्न भएको र परीक्षण उडान पनि सफल भइसकेको अवस्थामा तत्काल नियमित उडान सुरु गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

सरकारले विमानस्थल सञ्चालनमा चासो नदिएको गुनासो जिल्लाका राजनीतिक दलले गरेका छन् । साथै, उनीहरूले तत्काल विमानस्थल सञ्चालनका लागि सामूहिक दबाब दिने जनाएका छन् । आफू पर्यटनमन्त्री हुँदा जीवनबहादुर शाहीले विमानस्थल सञ्चालनका लागि निकै मिहिनेत गरेका थिए । परीक्षण उडानपछि उनले तत्काल नियमित सञ्चालनको समेत वचन दिएका थिए । सरकार परिवर्तनपछि नियमित उडान प्रक्रिया पनि अलपत्र परेको हो । विमानस्थल नियमित सञ्चालनका लागि आफूले पहल जारी राख्ने शाहीले वचन दिँदै आएका छन् ।

जिल्ला आउने दलका नेता तथा सरकारी अधिकारीलाई स्थानीय बासिन्दाले नियमित उडानको माग गर्ने गरेका छन् । पञ्चायतकालमा शिलान्यास भएको विमानस्थल अझै अलपत्र पर्नु दुःखद भएको उनीहरूको गुनासो छ ।

कर्णालीका पाँच जिल्लामध्ये कालिकोटबाहेक अन्य जिल्लाका विमानस्थल सञ्चालनमा छन् । कालिकोटको सुनथराली विमानस्थल लामो प्रयासपछि निर्माण गरिएको हो । ३१ वर्ष लगाएर निर्माण भएको यो विमानस्थलमा हालसम्म २६ करोड रुपैयाँ खर्च भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।०४२ सालबाट निर्माण थालिएको यो विमानस्थलको सशस्त्र युद्धका कारण निर्माणमा ढिलाइ भएको थियो ।

चिहानमाथि खुसीको पर्खाइ

१६ वर्षअघि विमानस्थल निर्माणमा खटिएका ३६ मजदुरको एउटै चिहान भएको थियो । विमानस्थल निर्माणमा खटिएका कामदारमाथि माओवादीको आरोपमा सेनाले आक्रमण गरेको थियो । सोही क्रममा ३६ जना मजदुरले ज्यान गुमाएका थिए । उनीहरू मारिएकै स्थानमा विमानस्थल निर्माण भएको छ। ०५८ साल फागुन १५ गतेको त्यो पीडालाई स्थानीयले अहिले पनि भुल्न सकेका छैनन् । चिहानमाथि गत वर्ष जहाज अवतरण गर्दा स्थानीयको पीडा भने केही हल्का भएको थियो ।

सेनाले मजदुरको हत्या गरेपछि उनीहरूको शव विमानस्थलको छेउमा एउटै खाल्डोमा पुरिएको थियो । स्थानीय बासिन्दा त्यही चिहानमाथिको विमानस्थलमा नियमित जहाज अवतरणको पर्खाइमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!