शान्ति सेनाका लागि हतियारको एलसी खोल्न बैंकद्वारा अस्वीकार

Posted on: 26 May, 2023

जेठ १२, काठमाडौँ | संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँबराबरको सैनिक सामग्री खरिद गर्ने तयारीका लागि नेपाली सेनाले प्रतीतपत्र (एलसी) खोल्न लाग्दा हिमालय बैंकले अस्वीकार गरेको छ । कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट सेनाले हतियार खरिद गर्न लागेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो ।

चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन ( नोरिन्को) बाट ६ अर्ब रूपैयाँबराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिदका लागि एलसी खोल्न यही जेठ ३ गते नेपाली सेनाका अधिकारी सो बैंकमा पुगेका थिए । नोरिन्कोलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको थाहा पाएपछि हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको स्रोतको दाबी छ । नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गर्न लागेको विषयमा जिज्ञासा राख्दा सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले अनभिज्ञता प्रकट गरे । सैन्य सामग्री तथा हतियार खरिदका लागि सेनाले विगतदेखि नै सरकारसँग लबिङ गर्दै आएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!