नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धान प्रतिवेदन यस्तो

Posted on: 23 May, 2023

जेठ ९, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई प्रहरीले तीनवटा अभियोगमा मुद्दा अघि बढाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरूमाथिको अनुसन्धानपछि उनीहरूविरुद्ध ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा मुद्दाअघि बढाउन भन्दै सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा १ सय ७८ पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

परिसर काठमाडौंका एसएसपी दनबहादुर कार्कीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको र अब मुद्दाको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै सरकारले रामबहादुर थापा गृहमन्त्री हुँदा ३० जेठ २०७६ मा गृह मन्त्रालयका पूर्वसहसचिव वालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । प्रहरीले सो प्रतिवेदनमा नाम उल्लेख भएका व्यक्ति नक्कली शरणार्थी रहेको सूचना पाएपछि सो प्रकरण बाहिर आएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ । प्रहरीले बुझाएको प्रतिवेदनलाई अब जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ११४ जना पीडितको २१ वटा जाहेरीसमेत समावेश गरिएको छ । प्रतिवेदनमा १६ जना पक्राउ परेको र अन्य १६ जना नै फरार रहेको उल्लेख गरिएको छ ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ ।

यसैगरी, नक्कली शरणार्थी प्रकरणमा कांग्रेस पूर्वसांसद आङ्टावा शेर्पा, केशव दुलाल, टंक गुरुङ, सानु भण्डारी, सागर राई, पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।

पछिल्लो समय प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरी अनुसन्धान गर्दै आइरहेको छ ।

फरार सूचीमा कोको ?

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा जोडिएका अन्य १६ जनाको अझै खोजी भइरहेको बताएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबार रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरीले सो प्रकरणमा जोडिएका अन्य १६ जना फरार सूचीमा रहेको भनेको हो ।

प्रहरीको फरार सूचीमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाईं छन् । यस्तै, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी पनि नक्कली शरणार्थी प्रकरणमा जोडिएर फरार रहेको प्रहरीले भनेको छ । यस्तै, वतन नखुलेका गोकुल थापा र रमा थापा पनि प्रहरीको फरार सूचीमा छन् ।

- महेश्वर गौतमले आजको राजधानी दैनिकमा समाचार लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!