वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | सरकारले बुधवार (आज)देखि निःशुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा सुरु गर्न लागिएको हो ।  बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्नेछन् ।

विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु-याउनका लागि पहिलो पटक यस्तो सेवा सुरु गर्न लागिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार यसमार्फत श्रमिकको आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव र परामर्श उपलब्ध गराइनेछ ।  बोर्डका प्रवक्ता राजन पौडेलले सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने जानकारी दिए । 

विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनुपरेमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्स एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्यालाई टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउने व्यवस्था गरिने पनि पौडेलले जानकारी दिए । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको उनले जानकारी दिए । 

बोर्डका अनुसार सेवा लिने श्रमिकका लागि चिकित्सकको ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने र यसको सम्पूर्ण खर्च बोर्डले बेहोर्नेछ ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजन पोखरेलले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि सरकारले यसलाई कम गर्न यो उपायबाट कम गर्न लागेको जानकारी दिए । यसैगरी श्रम मन्त्रालयले विदेशमा अलपत्र, मुत्यु र अङ्गभङ्ग भएका श्रमिकको उद्धार छिटोछरितो गर्ने व्यवस्था मिलाउन विदेशस्थित दूतावासलाई आग्रह गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!