गृहमन्त्रालय नपाएपनि सरकारमा जान रास्वपा तयार, तीन मन्त्रालयमा को-को जाने भए ?

Posted on: 27 Mar, 2023

चैत १३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय पाउने शर्तमा मात्रै सरकारमा सहभागी हुने अडानबाट पछि हटेको छ। यसअघि सभापति रवि लामिछानेले गृहमन्त्रालय पाएमात्रै सरकारमा जान सकिने अडान राखेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावलाई लिएर रास्वपा सरकारमा सहभागी हुनेबारे सकारात्मक बनेको छ ।

लामिछानेले पुष १० गतेको सहमति कार्यान्वयन र गृहमन्त्रालयको अडान लिएपनि प्रधानमन्त्री दाहालले अहिले राम्रा मन्त्रालय लिएर सरकारमा सहभागी हुन भनेपछि लामिछानेले सकारात्मक जवाफ दिएको बुझिएको छ। प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद् विस्तार गर्नेगरि तयारी थालेका छन् । आजमात्रै सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुसँग उनले छलफल गरेका छन् ।

मन्त्रालयको भागबण्डा करिब टुँग्याईएको बालुवाटार स्रोतको दाबी छ । कांग्रेस ८ मन्त्रालयसहित सरकारमा जाने तयारीमा छ । तर, गठबन्धनमा आवद्ध सबै दललाई भागबण्डा मिलाउनुपर्ने भएकोले ७ वटा मन्त्रालय लिएर भएपनि कांग्रेस सरकारमा सहभागी हुनसक्ने चर्चा छ । रास्वपाले भने तीन मन्त्रालय पाउने भएको छ ।

लामिछानेले पार्टीले पाउने तीन मन्त्रालयको बारेमा आज साँझसम्म प्रधानमन्त्री दाहालसँग भेटेर टुँगो लगाउने भएका छन् । उनले तीन मन्त्रालयमा विराजभक्त श्रेष्ठ, सोविता गौतम, डा. चन्दा कार्कीलाई पठाउने योजना बनाएका छन् । तर, क–कसलाई सरकारमा पठाउने भन्नेबारे रास्वपाले बैठक राखेर निर्णय गर्ने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!