अक्षरयात्रा शुरु

Posted on: 21 Feb, 2019

फागुन ९, कावासोती | नवलपरासी पूर्व नवलपुरको पहाडी गाउँपालिका बौदिकाली गाउँपालिकाले साहित्यिक सर्जक र सिर्जनाको खोजीका लागि ‘अक्षर यात्रा’ अभियान शुरु गरेको छ । 

पहाडी विकट क्षेत्रमा साहित्यिक सर्जकको खोजीका लागि अभियान शुरु गरिएको बौदिकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो । गाउँपालिकाले छवटै वडामा बिदाको दिन पारेर सर्जक र सिर्जनाको खोजी अभियान सञ्चालन गरिरहेको छ । बिदाको दिन विद्यालयमा केन्द्रित गरी विद्यार्थी र अन्य साहित्यमा रुचि भएका व्यक्तिको सहभागितामा रचना लेखन र वाचन कार्यक्रम गर्दै आएको छ । 

‘अक्षर यात्रा’ सञ्चालनका लागि गाउँपालिकाले बिदाको दिन कर्मचारीनै परिचालन गर्ने गरेको छ । अभियानअन्तर्गत छैटौँ चरणको कार्यक्रम सम्पन्न गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो । छैटौँ चरण सम्म आउँदा विभिन्न उत्कृष्ट लागेका रचना सङ्कलन गरिएको र भोलिका दिनमा लिपिबद्ध रुपमा सङ्ग्रह प्रकाशित गर्ने योजनासमेत रहेको उहाँले बताउनुभयो । 

राम्रो रचना सिर्जना गर्नेलाई भाषा प्रशिक्षण, रचना लेखनको प्रशिक्षण प्रदान गर्दै सिर्जनामा निखारता ल्याउन लागि पर्नेसमेत उहाँले बताउनुभयो । 

“सिर्जनाले स्थानीय विषय वस्तु उठाउँछ, हामीलाई योजना निर्माणमा समेत सहयोग पु¥याउँछ”, ज्ञवालीले भन्नुभयो, “यहाँ लेखिएका सिर्जनाले गाउँपालिकालाई चिनाउनसमेत मद्दत पुग्दछ । हाल गाउँपालिकाले सामान्य बजेट विनियोजन गरेर अभियान शुरु गरेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिँदै लैजाने गाउँपालिकाले जनाएको छ । गाउँपालिकावासीलाई रचनात्मक काम गर्न उत्पे्ररित गर्नसमेत ‘अक्षर यात्रा’ अभियानले सहयोग पु¥याउने अपेक्षा लिइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!