म्याग्दीको पानी उड्ने झरना, कसरी पुग्ने झरनासम्म ?

Posted on: 16 Aug, 2021

धु्रवसागर शर्मा । साउन ३२, गलेश्वर। पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने उडाइनो झरना हिजोआज धेरैको आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने यो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेपछि झरनाको चर्चा पनि व्यापक बन्दै गएको छ ।म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभिर सुर्केमेला बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँट कटेपछि उडाइनो झरनामा पुग्न सकिन्छ ।


म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरनाहरु हेर्दै करिब दुई किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा । करिब २०० मिटर उचाई रहेको कोप्रे छहरा र २५०  मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको १०० मिटर दक्षिणी भागमा अवस्थित छ ।

यहाँ दैनिक करिब १०० देखि २०० सम्म युवायुवती पुग्ने गर्दछन् । यहाँ दुई वटा झरना रहेका छन् । एउटा कोप्रे र अर्को उडाइनो झरना । यी दुवै भरना युवायुवतीका लागि खुशीका अनमोल खजाना बनेका छन् । कोरोनाको त्रासबाट आजित भएका युवायुवती आए आएर रमाइलो गर्दै दिन बिताउने गरेका बेनी नगरपालिका–३ का वडा सदस्य गेमबहादुर घर्तीमगरले बताउनुभयो ।

बेनी नगरपालिका– २ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका– ३ भकिम्लीको दूधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् । बेनपा– ३ भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछन् । पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयको भनाइ छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ ।

बेनपा– ३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा भने सुक्छ । पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयको भनाइ छ ।

म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिपm्ट गरेर भएपनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केकोसमेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उहाँको भनाइ छ ।

रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपक्षीको बासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।

अन्य दिनभन्दा छुट्टिका दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ । यी दुई झरना पर्यटकीयस्थल लब्ली हिलपछिको दोस्रो बढी तस्वीर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आएका छवि आचार्यले बताउनुभयो ।

पैदल वा सवारी दुवैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उहाँको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधाराको विकास गर्ने हो भने भकिम्ली बेलढुङ्गा तथा मङ्गला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटको सङ्ख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाले बताएका छन् ।

रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपक्षीको बासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!