म्याग्दीमा धान उत्पादन बढ्यो

Posted on: 13 Nov, 2020

कार्त्तिक २८, म्याग्दी । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा दुई प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको, समयमै रोपाइँ भएको र खेतीको क्षेत्रफल विस्तारसँगै उत्पादन बढेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । 

गत वर्ष तीन हजार ९०१ हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष तीन हजार ९२५ हेक्टरमा १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । 

पहिरो, बाढी र कटानले क्षति गरेकाले धान उत्पादन अपेक्षाकृत हुन नसकेको उहाँको भनाइ छ । प्राकृतिक प्रकोपका कारण तीन प्रतिशत उत्पादन प्रभावित भएको अनुमान छ । यस वर्ष वैशाख–जेठ महिनादेखि नै वर्षा भएकाले कृषकले समयमै धान रोपाइँ गर्न पाएका थिए ।

लकडाउनमा फुर्सदिला भएका कृषकहरुले बाँझो खेतमा पनि रोपाइँ गरेकाले क्षेत्रफल बढेको हो । नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोगकिराको समस्या नदेखिएको र भित्र्याउँदाको समय पनि अनुकूल भएको छ । 

विगतका वर्षमा मजदूरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो । अध्ययन, रोजगारी र व्यापार व्यवसायका लागि शहरी क्षेत्रमा गएकाहरु लकडाउनपछि गाउँ फर्किएकाले खेतीबाली लगाउन र भित्र्याउन सजिलो भएको कृषकले बताएका छन् । 

असी प्रतिशत कृषकले धान भित्र्याइसकेका छन् । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे  र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमीनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ । 

सलह, फौजीकिरा, हावाहुरी र बाढी पहिरोका कारण मकै उत्पादन भने प्रभावित भएको छ । गत वर्षको तुलनामा १६० मेट्रिक टन मकै उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दीमा ६ हजार ७३३ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । 

गत वर्ष तीस हजार २६० मेट्रिक टन मकै उत्पादन भएकोमा यसपालि ३० हजार मेट्रिक टन मात्र उत्पादन भएको छ । फौजी र सलह किराको प्रकोपका कारण मकै उत्पादन घटेको हो । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो । अर्को खाद्यबाली कोदो भित्र्याउन भने शुरु भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!