आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ

Posted on: 04 May, 2023

बैशाख २१, मुगु | सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उहाँ बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किनुहुन्छ  ।

हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उहाँ दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त हुनुभएको हो । गतवर्ष च्याउ टिपेर रु २५ हजार कमाउनुभएकी उहाँलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ । ताजागाउँकी बेलसरा बुढाले पनि वनजङ्गलमा बाख्रा चराउँदै गुच्चीच्याउ सङ्कलन गर्ने गर्नुभएको छ । गतवर्ष च्याउ बेचेर उहाँले रु ४० हजार कमाउनुभएको थियो  ।

जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्चीच्याउ टिप्ने चटारो छ । जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्चीच्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ । विपन्नको मुख्य आयस्रोतका रूपमा चिनिने च्याउले बर्सेनि राम्रो मूल्य पाउन थालेको छ । यस वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्चीच्याउको राम्रो उत्पादन भएको स्थानीयवासीको आशा छ । “जङ्गलमा च्याउ टिप्दैमा दिन बित्ने गरेको छ,’ उहाँले भन्नुभयो्, “च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले वनजङ्गलको च्याउलाई मुख्य आयआर्जनको स्रोत बनाएका छौंँ ।” च्याउ टिप्न बिहानै वनजङ्गलमा जानुपर्ने र साँझ मात्र घर फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्थानीय बजारमा गुच्चीच्याउको मूल्य प्रतिकिलो रु १४ हजारदेखि १७ हजारसम्म पर्ने स्थानीयवासीको भनाइ छ । केही व्यापारीले प्रतिगोटा सात रुपैयाँमा च्याउकिन्ने गरेका छन् । जिल्लाको खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका अधिकांश जङ्गलमा गुच्चीच्याउ पाइन्छ छ । बेँसीतिर उम्रिने गुच्चीच्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने सोरु गाउँपालिकाकच्चेका कलबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार च्याउ टिप्ने समयमा गाउँमा ज्येष्ठ नागरिक र अशक्तमात्र घरमा बस्छन् । बालबालिकासमेत पढाइ छाडेर गुच्चीच्याउ टिप्न जाने गरेका छन् र च्याउको सिजनका बेलागाउँबस्ती सुनसान हुने गरेको छ । निगालो, पीपल, उन्युँ बढी भएको जङ्गलमा गुच्चीच्याउ बढी उम्रिने गरेको छ ।

 उहाँका अनुसार उम्रेको दुई सातासम्म टिप्न नसके कुहिने, वन्यजन्तु र चराले खाने समस्या छ । सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट तथा मुगुमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापु गाउँकाजङ्गलमा च्याउ बढी पाइन्छ ।

जिल्लामा उत्पादित गुच्चीच्याउ नेपालगञ्ज, काठमाडौँं र तिब्बत्सम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मेलबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ सङ्कलन गर्छन् । उहाँले जिल्लामा करिब २० क्विन्टल बढी गुच्चीच्याउ पाइने गरेको बताउनुभयो । सोरु गाउँपालिकाको वन क्षेत्रमा सङ्कलन हुने च्याउव्यापारीले हुम्लाको हिल्सा नाकाहुँदै तिब्बती बजारमा पु¥याउने गरेका छन् । गुच्चीच्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमासमेत प्रयोग गरिने भएकाले यसको माग बढेको उहाँको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!