मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

Posted on: 26 May, 2022

जेठ १२, मुगु | शैक्षिक सत्र सुरु भइसक्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन । यहाँका एक सय ४० सामुदायिक तथा निजी विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थी पाठ्यपुस्तकविनै खाली हात माथिल्लो कक्षा उक्लेका छन् । 

महाकाली नमुना माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा सोनी शाहीले समयमै पुस्तक हात नपर्दा पढाई बिथोलिने गरेको बताइन् । मुगुमा अन्य हिमाली जिल्लामा जस्तो इन्टरनेटको सहज पहुँच पनि छैन । समयमै विद्यालयमा पाठ्यपुस्तक पुगे पुस्तक हेरेरै भए पनि पढ्न सकिने अर्का विद्यार्थी कर्णवीर मल्लले बताए । 

पाठ्यपुस्तक किन्न बजेट निकासा

जिल्लाभरका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्ने गरी २८ लाख ४९ हजार ९७ रुपैयाँ सम्बन्धित विद्यालयको खातामा पठाइसकिएको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जय लक्ष्मी पुस्तक भण्डारले भने हालसम्म पुस्तक पुर्याउन सकेका छैन ।

पाठ्यपुस्तक ढुवानीको लागि नगरपालिकाले लिखित पत्र पठाउनुको साथै मौखिक रूपमा समेत पटक पटक ताकेता गरेको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिष्णुकुमार भामले बताए । 

मुगुमा समयमै पाठ्यपुस्तक नपुग्दा हरेक वर्ष पठनपाठनमा सास्ती हुने गरेको छ । विद्यार्थीको हातमा विषय अनुसारका पुस्तक नहँुदा साथीहरूसँग समन्वय गरेर अध्ययन अध्यापन गर्नु परेको महाकाली नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकायाले बताए । 

जनक शिक्षाले छायाँनाथ रारा नगरपालिकाभित्रका ४६ वटा सामुदायिक विद्यालयका पाठ्यपुस्तक ढुवानीको जिम्मा जयलक्ष्मी पुस्तक भण्डारलाई दिएको छ । सोही अनुसार कर्णाली प्रदेश कार्यालयमा पुस्तक खरिदका लागि रुपैयाँ जम्मा गरिसकेको छ । पुस्तकहरू सुर्खेत भए पनि मुगुका विद्यार्थीका हातमा पुग्न सकेको छैन । 

जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाइटर जयलक्ष्मी भामका अनुसार स्थानीय तह निर्वाचनलाई मतपत्र छाप्न थालेकाले पाठ्यपुस्तक छाप्न ढिला भएको हो । साथै मुगुमा सहज यातायताको सुविधा समेत नभएको उनले बताए । उनले भने, ‘अबको एक सातामा सबै पाठ्यपुस्तक आइपुग्छ ।’जिल्लाका खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकामा पनि पाठ्यपुस्तक पुगेका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!